निर्वाचन आयोगले फागुन आज ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचार–प्रसारको समय तोक्दै सरोकारवालाहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।
निर्वाचन आयोगले तोकिएको कार्यतालिका बमोजिम राजनीतिक दल र उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारका लागि निश्चित समयसीमा प्रदान गरेको हो । फाल्गुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फाल्गुन ३ गते राति १२ बजे पछि राजनीति दल एवं उमेदवारहरूले निर्वाचन प्रचार प्रसार सुरु गर्न पाउने छन । यो प्रचार अवधि फाल्गुन १८ गते राती १२ बजेसम्म कायम रहने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । निर्वाचन आचार संहिता २०८२ ले राजनीति दल, उमेदवार, दलका भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार प्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ ।
उनका अनुसार आयोगले प्रचारप्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि र शुभेच्छुकहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ । आयोगले आचार संहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्रहरू परिचालन गरिरहेको भण्डारीले बताए ।
यसैगरी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गरेर मतदातालाई सचेत बनाउन आमसञ्चारमाध्यम र पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन ।
निर्वाचन आयोगले आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार विषयक कार्यशाला गोष्ठी एवं मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा मतदातालाई सचेत बनाउन गरिएका विभिन्न कार्यक्रममध्ये यो पनि एक महत्ववपूर्ण रहेको बताएका हुन । निर्वाचनसम्बन्धी सत्य, तथ्य समाचार सम्प्रेषण गर्न कार्यक्रमले सहयोग गर्ने उनले बताए ।
आयोगले यसअघि बनाएको कार्यतालिकाअघि निर्वाचन सामग्री आयोगमा आएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिदै निर्वाचन सामग्री जिल्ला–जिल्लामा जान थालिसकेकाले मतदान अधिकृतले तालिम लिनुअघि निर्वाचन सामग्री बुझेर जाने वातावरण यसबाट बनेको भन्दै अहिले निर्वाचनको सङ्लो र स्वच्छ वातावरण बनेको छ, यसलाई धमिलो बनाउने काम कसैले पनि गर्नु हुँदैन । मुलुकलाई अप्ठ्यारो अवस्थाबाट चलायमान बनाउने माध्यम पनि निर्वाचन हो । फागुन ४ गतेपछि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्ने समय तोकिएकाले निर्वाचन आचारसंहिता उल्लङ्घन धेरै हुनसक्ने समय पनि यही हो, त्यसैले यो बेला आमसञ्चारमाध्यम र पत्रकार पनि सचेत हुनुपर्छ”, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने ।
राष्ट्रिय वा अन्तरराष्ट्रिय पर्यवेक्षकले नकारात्मक सोच राखेर काम गरे भने त्यससम्बन्धी समाचार सम्प्रेषण गरेर खबरदारी गर्न भन्दै यो वर्ष निर्वाचनको ठिकअघि साढे नौ लाख मतदाता थपिएको प्रसङ्ग उल्लेख गर्दै विगतका निर्वाचनअघि यतिको सङ्ख्यामा मतदाता थपिएको इतिहास नभएको बताए ।








