बनेपा, अब मतदाता नामावलीमा नाम दर्ता गर्न सम्बन्धित जिल्ला जानु नपर्ने भएको छ । निर्वाचन आयोगले सूचना जारी गर्दै अनलाइन फारम भरिसकेपछि आयोगको जुनसुकै कार्यालयमा गएर मतादाता नामावलीमा नाम लेखाउन सक्ने जनाएको हो । यसअघि आयोगले यथास्थानबाटै मतदाताको आवेदन स्वीकार गरी सूचिकृत गर्दै आएको थियो ।

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले उमेर पुगेर पनि मतादाता नामावलीमा छुटेकाहरूलाई सूचिकृत हुन आह्वान गरिसकेको छ । आयोगका अनुसार अनलाइन फारम भरेपछि जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिनेछ । काठमाडौं उपत्यकामा रहेकाहरूले पनि काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला निर्वाचन कार्यालयमा गई फोटो र बायोमेट्रिक दिन सक्नेछन् । जसअनुसार मतदाता नामावलीमा नाम नभएकाहरू काठमाडौं उपत्यकाबाट सम्बन्धित जिल्लामा समेत जानु पर्ने छैन ।
काठमाडौंको मिनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय ललितपुर, र सल्लाघारी सिर्जनानगरस्थित जिल्ला निर्वाचन कार्यालय भक्तपुर, जिल्ला निर्वाचन कार्यालय धुलिखेल लगायतमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सक्नेछन् । निर्वाचन कार्यालय जानुअघि सम्बन्धितले आयोगको अनलाइन पोर्टलमा गएर मतदाता नामावलीको फारम भने अनिवार्य रुपमा भरेको हुनुपर्नेछ ।