गोदावरीमा भएको नेकपा एमालेको दोस्रो विधान महाधिवेशनले अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान मस्यौदा र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रस्ताव पारित गरेको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रतिवेदनमाथि छलफल गर्न गठन भएका १० समूहले दिएकोसुझावलाई समेट्दै महाधिवेशनले प्रतिवेदन पारित गरेको हो । एमालेको यो विधान महाधिवेशनमा ७० वर्षीय उमेर हद र एउटै नेता दुई कार्यकारी पदमा बस्न नहुने प्रावधानलाई हटाएर पारित गरेको छ ।
एमाले विधान महाधिवेशनमा बहुमत प्रतिनिधिहरुले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउन नहुने मत दिएका थिए । प्रतिनिधिहरुले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउँदा पदको गरिमा असर पर्ने भन्दै भण्डारीलाई सम्मानित पदमा बस्न आग्रह गरेका हुन । केही प्रदेशमा भण्डारीको पक्षमा अलि बढी मत देखिए पनि समग्रमा अत्यधिक प्रतिनिधिहरु सक्रिय राजनीतिमा आउन नहुने पक्षमा देखिएका हुन ।
पछिल्लो केन्द्रीय कमिटीको निर्णयलाई सकरात्मक भन्दै महाधिवेशनमा प्रस्तुत राजनीतिक, सांगठनिक प्रतिवेदन र विधान मस्यौदामा धारणा राखेका १० वटै टोलीका प्रतिनिधिले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउँदा पदको गरिमा असर पर्ने भन्दै भण्डारीलाई सम्मानित पदमा बस्न आग्रह गरेका हुन् । सबै समूहका टोली नेताले आफ्नो समूहको प्रतिवेदन पेस गर्ने क्रममा यस्तो धारणा राखेका हुन् । प्रतिवेदनमा छलफल गर्न गठिन समूहमा करिब दुईदेखि तीन प्रतिशत प्रतिनिधिले भण्डारीको सदस्यता रोक्न नहुने धारणा राखेका थिए ।