इन्टरनेटको सुविधाबाट बञ्चित रहेको महाभारत गाउँपालिकामा इन्टरनेट जडान गर्ने गाउँपालिका र इन्टरनेट प्रदायक बिच सम्झौता भएको छ । गाउँपालिकाको कार्यालय देविटारमा महाभारत गाउँपालिका र इन्टरनेट प्रदायक सजिलो नेट प्रा. लि. बिच अबको ६ महिना भित्रमा सबै मुख्य मुख्य बस्तिहरुमा इन्टरनेट पुर्याउने सहमति भएको हो ।
महाभारत गाउँपालिका र ईन्टरनेट प्रदायक संस्था (सजिलो नेटवर्क प्रा.लि.) बिच पालिकाभरका सरकारी कार्यलय, बिद्यालयहरु र घरघर मै सर्वसुलभ ईन्टरनेट सुविधा लिन सकिने गरि दुइपक्षीय सहमती भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिएका हुन । गाउँपालिकाको तर्फबाट अध्यक्ष कान्छालाल जिम्बा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, वडा नं. १ का वडा अध्यक्ष कान्छामान जिम्बा वडा नं. ६ का अध्यक्ष रमेश कुमार लुङ्गेली र योजना शाखाका दिनेश बस्नेत र सजिलो नेटवर्क प्रा.लि.को तर्फबाट सि.इ.ओ. विकास मुडवारी र रोहित थापा मगरले सहमतिमा हस्ताक्षर गरेका छन ।
सहमति अनुसार कम्पनीले गाउँ कार्यपालिकाको कार्यालयमा ५०० एम वि पि एस तत्कालै इन्टरनेट जडान गर्ने, पालिकाका वडा कार्यालयहरुमा १०० एम वि पि एस को इन्टरनेट ३ महिना भित्र जडान गर्ने, स्वास्थ्य संस्थाहरुमा ५० एम वि पि एस को इन्टरनेट जडान गर्नेलगायत रहेको छ ।