भोली चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि देशभरको माहोल तातेको छ । केही क्याम्पसहरुमा विरोधका कारण निर्वाचन स्थगित भएको छ भने केहीमा भने सर्वसम्मत नेतृत्व चयन भएका छन् । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएका केही जिल्लाका विद्यार्थी संख्याको हिसाबले साना क्याम्पसहरुमा भने संगठनहरुको सहमतिमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
यहि क्रममा काभ्रेका १३ क्याम्पसमा निर्विरोध स्ववियु सभापति निर्वाचित भएका छन । काभ्रेका १३ क्याम्पसमा सर्वसम्मत सभापति सहित पदाधिकारी र कार्य समिति चयन भएको हो । गत सोमबार पाँच विद्यार्थी संगठनबीच भएको सहमति अनुसार विद्यार्थी संगठनहरुले उम्मेदवार दर्ता गरेसँगै निर्बिरोध नेतृत्व टुंगिएको हो । सहमतिअनुसार अनेरास्ववियु र नेविसंघले ६÷६ सभापति र क्रान्तिकारीले ३ क्याम्पस सभापति बाँडेका थिए । अनेरास्ववियुले कुशादेवी, तेजगंगा, धुलिखेल, जनक, सर्वमंगला र डेडिथुम्काको नेतृत्व पाउने सहमति भएको थियो । सोही अनुसार धुलिखेल क्याम्पसमा स्वागत चापागाँई, कुशादेवी क्याम्पसमा मनिका हुमागाँई, जनक क्याम्पसमा सञ्जिव गिरी, सर्वमंगलामा श्रीकृष्ण भट्टराई र तेजगंगा क्याम्पसमा सुजन सापकोटा सभापतिमा निर्बिरोध निर्वाचित भएका छन् । नेविसंघले इन्द्रेश्वर, पार्वती, प्रकाश, चैतन्य, मंगलजन विजय र कानपुर क्याम्पसको नेतृत्व प्राप्त गरेको छ । जसअनुसार चैतन्य क्याम्पसमा राजु लामा, इन्द्रेश्वरमा सुदिप कुँवर, मंगलजनविजयमा युगबहादुर दमै, प्रकाशमा नविन रिजाल र पार्वती क्याम्पसमा प्रकाश श्रेष्ठ स्ववियु सभापतिमा निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीबाट श्रीकृष्ण क्याम्पस दाप्चामा सबिन श्रेष्ठ, सञ्जिवनी क्याम्पस धुलिखेलमा दिपक राना मगर र प्रभा बहुमुखी क्याम्पस चौंरीदेउरालीमा सुजन चौंलागाँई स्ववियु सभापतिमा निर्वाचित भएका छन् । अरु बाकीमा पनि सहमतिमा सभापति चयन भएपनि काभ्रे बहुमुखी क्याम्पसमा भने विद्यार्थी संगठनहरु अलग अलग प्रतिस्पर्धामा उत्रिएका छन् । काभ्रे क्याम्पसमा सभापतिमा नेवि संघ र अनेरास्ववियुको मात्रै उम्मेदवारी परेको छ । नेविसंघबाट रोहिन पराजुली र अनेरास्ववियुबाट मिलन गौतमको सभापतिमा उम्मेदवारी परेको छ । यहाँ अनेरास्ववियु र अखिल क्रान्तिकारी तथा नेविसंघ र अखिल समाजबादीको गठबन्धन बनेको छ ।