बनेपा, नेकपा एमाले बनेपा नगर कमिटीको दोश्रो अधिबेशनबाट अध्यक्षमा नवराज मानन्धर निर्वाचित हुनुभएको छ । शनिबार राती सम्पन्न निर्वाचनमा उहाँले ११६ मत ल्याउँदै अध्यक्षमा निर्वाचित हुनुभयो । अध्यक्षमा तीन जनाको प्रतिस्पर्धा भएकोमा रामशरण दाहालले एक सय मत र साधुराम दाहालले १३ मत ल्याउनुभएको थियोे ।
उपाध्यक्षमा शिव थापाले १५५ मत ल्याएर विजयी हुनुभयो । उहाँको निटकतम प्रतिस्पर्धी रत्न श्रेष्ठले ७७ मत ल्याउनुभयो । सचिवमा पवन केसीले १४६ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी श्रीधर पराजुलीले ८२ मत ल्याउनुभयो । उपसचिवमा ११६ मत ल्याएर बिक्रम प्रजापती विजयीहुँदा चुडाप्रसाद सुवेदीले ११ र सन्तोष घिमिरेले ८९ मत हासिल गर्नुभयो । उप सचिब महिलामा नारायणी शर्मा निर्बिरोध विजयी हुनुभयो ।
दोश्रो अधिवेशनको उद्घाटन गर्दै एमाले पोलिटव्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले महिला अधिकार बराबर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमध्ये एक जना महिला अनिवार्य हुनु पर्ने प्रावधान भएपनि गठबन्धनको नाउँमा महिलाको अधिकार खोसिएको बताउनुभयो । एमालेले संविधान संशोधनका क्रममा कम्तिमा दुई पदमध्ये गठबन्धन भएपनि एक पदमा महिला अनिवार्य हुनुपर्ने प्रावधान राख्ने उल्लेख गर्नुभयो । बनेपाको समृद्धिको यात्रा एमालेको नेतृत्वबाट मात्रै संम्भव हुने उल्लेख गर्नुभयो काभ्रेपलाञ्चोक जिल्लाको राजनितीको नेतृत्व बनेपा, पनौती र धुलिखेलले गर्ने भन्दै पूर्वमन्त्री बाँस्कोटाले गणतन्त्र चिरकालसम्म रहने बताउनुभयो ।
नगरका कार्यवाहक अध्यक्ष नवराज मानन्धरको अध्यक्षमा भएको कार्यक्रममा संविधानसभा सदस्य शिला कतिला, जिल्ला अध्यक्ष राजन भुर्तेल, बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा, जिल्ला कमिटी उपसचिव रत्नकुश रंजित लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।