बनेपा, बेलर इन्टरनेशनल एकेडेमी बनेपाले शुक्रबार एक कार्यक्रमका बिच क्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत र कक्षा १२ उर्तिण विद्यार्थीहरुलाई विदाई गरेको छ ।
कक्षा ११ मा विज्ञान र ब्यवस्थापन विषयमा करिव ६ सय विद्यार्थी भर्ना भएका छन् भने कक्षा १२ मा समेत गरी करिव १ हजार विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । होटल म्यानेजमेन्ट, कम्प्युटर साईन्स, विजनेस स्टडी लगायतका विषयहरुका अलावा काठमाडौ विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु पनि बेलर स्कुलले संचालन गर्दै आएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले विद्यार्थीहरुलाई स्वदेशमा नै अध्ययन गरी ब्यवहारीक ज्ञान हासिल गर्न अनुरोध गरेका थिए । शिक्षाविद् माधव अधिकारीले विद्यार्थीहरुले प्रमाणपत्र मात्रै होईन ब्यवहारमै सिक्नु पर्ने बताए ।
कार्यक्रममा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बालबालिकाहरु सहि मार्गमा लाग्न सहि शिक्षा प्राप्तिका लागि निरन्तर मेहनत र संगत असल बनाउन सुझाव दिईन् । विद्यालयका प्रिन्सिपल इन्दु थापाले बालबालिकाहरुले सिकेको कुरा ब्यवहारमा र जीवनपयोगी रुपमा कार्यान्वयन गर्न अनुरोध गरिन् । अध्यक्ष भोला थापाले बेलर स्कुलले बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए ।
१० उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको कार्यक्रममा नेपाली सेना २६ नम्वर बाहिनीका बाहिनीपति अशोक गुरुङ्ग, नेपाली सेना कालीजंग गणका गणपती प्रमुख सेनानी प्रकाशबहादुर सिंह, लेखापरिक्षक झलकमणी लम्साल, विद्यार्थी इच्छा लामा, विद्यालयका विभिन्न विभागका प्रमुखहरु, क्याम्पस तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुलगायतको बेलरले प्रदान गरेको शैक्षिक गुणस्तरका बारेमा चर्चा गरेका थिए ।








