वि.सं.२०४९ सालबाट चण्डेनी मण्डनको जोगिटार, कटहरेचौरमा संचालन प्रारम्भ भई २०५९ सालमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गर्दै विधिवत् संचालन हुँदै आएको विद्यालयले शैक्षिक सत्र २०८० सम्म प्रारम्भिक स्थापना स्थलबाट शिक्षण सेवा प्रदान गर्दै आएको थियो । त्यसरी हेर्दा संचालन सन्दर्भ र स्थापना समयको हिसाबले ‘नव प्रतिभा’ मण्डनदेउपुरकै सबैभन्दा पूरानो र लामो इतिहास भएको विद्यालय हो ।
तत्कालिन समयमा खास गरी ग्रामिण भेग र सिमान्तकृत माझी समुदायका बालबालिकालाई अंग्रेजी माध्यमको शिक्षामा पहूँच दिलाउने हिसाबले नेपाली साहित्य क्षेत्रका चर्चित कथाकार एवं उपन्याशकार रमेश विकल, स्थानीय शिक्षासेवी दामोदर नेपाल, आत्मेश्वर चालिसे, जनार्दन पराजुली, महेन्द्र चालिसेले लगायतले संचालन गर्दै आएको विद्यालय वि।सं। २०७२ सालसम्म निरन्तर संचालन हुँदै आएकोमा ७२ सालको विनाशकारी भूकम्पपछि भौतिक संरचना अभावले भण्डै ३ साल बन्द हुन पुगेको थियो । वि।सं। २०७७ देखि २०८० सम्म नयाँ व्यवस्थापन सहित मण्डनदेउपुर–७, कुन्तावेसीका स्थानीय सामाजिक तथा शिक्षाप्रेमी व्यक्ति होमप्रसाद चौंलागाँईंले उक्त विद्यालय संचालनको नेतृत्व गर्दै आएका हुन् ।
मण्डनदेउपुरको वडा नं। १० मा संचालित उक्त विद्यालय सेवा क्षेत्रको हिसाबले असाध्यै साँघूरो ठाउँमा रहेको महसुश भैरहेको सन्दर्भमा शैक्षिक सत्र २०८१ बाट मण्डनदेउपुर नगरपािलकाको बजार क्षेत्र कुन्तावेसीबाट संचालन प्रारम्भ गरेको हो । विद्यालय मण्डनदेउपुर नगरपालिका वडा नं। १० बाट वडा नं। ७ मा वडा स्थानान्तरण भएसंगै विद्यालय सेवा क्षेत्रको हिसाबले बजार प्रवेश भएको बताउन थालिएको छ । शिक्षा क्षेत्रलाई संस्थागत र सामुदायिक भनेर बर्गिकरण गर्ने गरिएको वर्तमान सन्दर्भमा नव प्रतिभाले कुन्तावेसीबाट सर्वसुलभ शुल्कमा सामुदायिक शिक्षण सेवा प्रदान गर्ने बताइएको छ । हाल कक्षा ७ सम्म संचालन गर्ने बताइको उक्त विद्यालयले शैक्षिक सत्र २०८२ देखि आधारभूत तहको अनुमती लिंदै शैक्षिक सत्र २०८४ भित्र माध्यमिक तह संचालन गर्ने गरी अगाडी वढ्ने लक्ष्य लिएको विद्यालयका संचालक होमप्रसाद चौंलागाँईंले बताए ।









