बनेपा, दादुरा–रुबेला विरुद्धको खोप राष्ट्रिय अभियान हिजोदेखि शुरु भएको छ । सरकारले फागुन १३ गतेदेखि ७ चैत्रसम्म खोप अभियान संचालन गर्नेछ ।
काभ्रेमा भने फागुन १३ देखि २५ गतेसम्म दुई चरणमा खोप अभियान संचालन हुने छ । अभियान अन्तर्गत ९ महिनादेखि ५ बर्षसम्मका २३ हजार ९ सय ९ सय ५८ बालबालिकालाइ दादुरा÷ रुबेला विरुद्धको खोप लगाइनेछ ।
खानीखोला र महाभारत बाहेकका स्थानीय तहमा पहिलो चरणमा खोप कार्यक्रम शुरु भएको छ । स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन पदमराज कैनीका अनुसार, ३ सय ९३ खोप केन्द्रमा ३ सय ९३ खोपकर्ता र ७ सय ८६ स्वंयमसेवक परिचालन गरिएको छ ।
त्यसैगरी स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुबेलाको जोखिम रहेको ५१ वटा जिल्लामा खोप अभियान सञ्चालन गरिनेछ । खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका ५७ लाख बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य छ । बढी प्रभावित काठमाडौंसहित २१ वटा जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई खोप लगाइदैंछ भने अन्य जिल्लामा भने ८ महिनादेखि ५ वर्षमुनिका बालबालिकामा यो खोप लगाउन लागिएको हो । डा. गौतमकाअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लासहित तराईंका भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइदैंछ । काठमाडौं दादुरा–रुबेलाको अतिसङ्क्रमित जिल्ला हो । गत वर्ष काठमाडौं जिल्लामा दादुरा–रुबेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एक जनाको मृत्यु भएको थियो ।
यसअघि नियमित खोपअन्तर्गत दादुरा–रुबेलाको खोप लगाएकाहरुले पनि यो खोप लगाउनुपर्ने छ । सरकारले सन् २०२६ सम्म दादुरा—रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो । दादुरा–रुबेलाको खोप अभियानको लागि सरकारले देशभर ५० हजार स्वयंसेवक, ३० हजार स्वास्थ्यकर्मी र ४० हजार खोप केन्द्र तोकिएको समेत खोप शाखा अभियान डा. गौतमले बताए । उक्त खोप अभियानको लागि खोपको अन्तर्राष्ट्रिय सहायता संस्था गाभीको सहयोगमा झन्डै एक अर्ब ३५ करोड रुपैयाँको सरकारले ६३ लाख मात्रा खोप नेपाल ल्याएर सबै प्रदेशहरुबाट वितरण गरिसकेको छ ।

मिजल्स भाइरसका कारण हुने दादुरा छिट्टै सर्ने संक्रामक रोग हो । रुबेला भाइरसका कारण हुने दादुरा जस्तै देखिने अर्को संक्रामक रोग हो रुबेला । चाडै महामारीको रुप लिनसक्ने यी रोगहरु विशेषगरी ५ वर्षमुनिका बालबालिकालाई धेरै हुने छ । दादुरा संक्रमण भएमा मृत्यु समेत हुनसक्छ ।
त्यसैगरी, रुबेला भाइरस दादुरा रोगको लक्षण भन्दा सामान्य किसिमको हुन्छ । तर, गर्भावस्थामा रुबेला संक्रमण भएमा विभिन्न जटिलताहरु देखिने हुन्छ । जस्तैः समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मिने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलांगहरू देखा पर्नसक्ने, गर्भपतन हुने । यस्तो रोग लागेमा अरुलाई सर्नबाट जोगाउन बिरामीलाई अलग ठाउँमा राख्न आवश्यक हुन्छ । यससँगै चिकित्समको सल्लाहमा लक्षणअनुसार तत्काल उपचार गरिहाल्नुपर्छ ।

दादुरा रोग संक्रमित व्यक्तिको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा, र खोक्दा विषाणु हावामा फैलिएर सर्छ । दादुरा रोगको लक्षण देखिनु भन्दा अघि तथा लक्षण देखिइसकेपछि पनि धेरै दिनसम्म संक्रमितले दादुराका विषाणु सार्दछन् । बालबालिकाहरू समूहमा जम्मा हुने या भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्नसक्छ ।

यो रोगको पहिलो लक्षण उच्च ज्वरो आउनु हो । संक्रमित व्यक्तिको सम्पर्क भएको १०–१२ दिनपछि ज्वरो आउँछ । यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग देखापर्छ । यससँगै केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा केही उठेका विमिरा देखापर्छन् । ती विमिरा करिव ३ दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन् । यी विमिरा ५, ६ दिनसम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन् । सामान्यतया उक्त रोगको जिवाणु शरीरमा प्रवेश गरेको ७ देखि १८ दिनभित्रमा लक्षण देखिन थाल्छ ।
सरकारी तथ्याकंअनुसार नेपालमा पूर्ण खोप नलगाउने २१ प्रतिशत छन् । दादुरा–रुबेला विरुद्धको खोप बच्चा जन्मिएको ९ र १५ महिनापछि लगाउनुपर्छ । बालबालिकालाइ सो समयमा दादुरा–रुबेलाको गुणस्तरीय खोप दुई मात्रा दिएमा पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिने चिकित्सकहरुले बताएका छन । त्यसैले यो उमेरका सबै बालबालिकालाई नछुटाई खोप लगाऔं है ।