नेपाली प्रतिनिधिको टोली भारतमा आयोजित खाद्य तथा पेयपदार्थ सम्बन्धी अन्तराष्ट्रिय प्रदर्शनी इण्डुज फुड टेकमा सहभागी हुन पौष ( २०, आइतबार ग्रेटर नोयडामा पुग्यो । त्यहाँ विश्वका विभिन्न देशका खानेकुरा तथा पेय पदार्थ सम्बन्धी प्रदर्शनी गरिएको थियो । सो प्रदर्शनी दक्षिण एशियाकै सबैभन्दा ठूलो भएको दावी गरिएको छ ।
भारतसहित दक्षिण एशियाली एवं अन्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय फुड चेनमा जोड्ने उद्देश्यले आयोजना गरिएको सो इण्डुज फुड टेक मेलामा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र केहि निजी उद्योगीहरु पनि सो मेलामा सहभागिता जनाएका थिए। झन्डै १०० जनाको हराहारी सो मेलामा नेपाली व्यवसायीले भाग लिइएका थिए । इण्डुज फुड टेकमा नेपालका विभिन्न ७ वटा कम्पनीहरूले स्टल समेत राखेका थिए । प्रदर्शनीमा नेपाली कफी, चिया, जडीवूटी, खाद्य प्रशोधन, चाउचाउ लगायत खाद्यान्न उत्पादनका स्टलहरू राखिएको थियो ।
प्रदर्शनीमा खाद्य तथा खाद्यान्न सम्बन्धि नविनतम प्रविधिको विस्तार, अन्तराष्ट्रिय सहकार्य एवं आगामी दिनमा खाद्य तथा पेयपदार्थ क्षेत्रलाई अझ गतिशिल बनाउन सकिन्छ भन्ने विषयमा मेला आयोजना गरिएको बुझिन्छ । प्रदर्शनी सोमवार विहान भारत सरकारका वाणिज्य तथा उद्योग सचिव सुुनिल बर्थवालले समुदघाटन गरेका थिए भने वाणिज्य तथा उद्योग मन्त्री पियुुष गोयलले भर्चुअल माध्यममार्फत संवोधन गरेका थिए । सम्बोधन गर्दै प्रदर्शनीले भारत सहित सिंगो दक्षिण एशियालाई विश्व खाद्य चेनसँग जोड्ने कुराको दावी समेत गोयलले गरेका थिए । आफ्नो भनाई राख्ने क्रममा गोयलले यो प्रदर्शनीले दक्षिण एशियाको खाद्यान्नसम्बद्ध क्षेत्रमा आमूल परिवर्तन ल्याउने दावी समेत गरेका थिए । प्रदर्शनीमा खाद्य उत्पादनसँग पछिल्लो पटक विकास भएका उच्चतम प्रविधि सहितको अत्याधुनिक मेशिन तथा खाद्यान्न प्रदर्शनी गरिएको थियो । इण्डुज फुड टेकमा भारत सहित सयभन्दा बढी देशका करिब ३ हजार कम्पनीहरूले भाग लिएका थिए ।
प्रदर्शनीका आयोजक भारतीय व्यापार प्रवद्र्धन परिषद्का तर्फबाट भारतीय वाणिज्य सचिव श्री बर्थवालसँग सोमवार प्रदर्शनी परिसरमा सहभागी सबै देशका प्रतिनिधिमण्डलसँग भेटघाट राखिएको थियो। भेटका क्रममा नेपाल भारत बीचको आर्थिक व्यापारिक सम्बन्ध, नेपाली कृषि उत्पादनको भारत निर्यातमा क्वारेन्टाइन, ल्याव टेष्ट लगायतका विभिन्न विषयमा रहेका समस्या समाधानका लागि नेपाली प्रतिनिधिहरुले आग्रह गरेका थिए । सो अवसरमा सहभागी अरु प्रतिनिधिहरुले निर्यात तथा आयातमा रहेका कठिनाई पहिचान गरी संवोधन गर्न आग्रह गर्दै फुड सेफ्टी एण्ड प्याकेजिङ एण्ड इमर्जिङ टेक्नोलोजीका विषयमा आयोजित व्यवासयिक बैठकमा सहभागिता जनाई आफ्ना कुराहरु राखिएको थियो । भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयको वाणिज्य विभाग र भारतीय साना, मझौला तथा घरेलु मन्त्रालयको सहयोगमा भारतीय व्यापार प्रबर्द्धन परिषद्ले आयोजना गरेको इण्डुज फुड टेक बुुधवारसम्म चलेको थियो ।
इण्डुज फुड टेकमा सहभागिताबाट नेपाल जस्ता मुलुकलाई खाना तथा खाद्य उद्योगमा आएको नविनतम प्रविधि, बजार प्रर्वद्धन, अन्तराष्ट्रिय सम्बन्ध विस्तार एवं नयाँ नयाँ सोंचलाई मुलुकभित्र ल्याउन सहयोग पुुग्ने विश्वास गर्न सकिन्छ । सन् २०१८ बाट शुुरू हुन थालेको यो प्रदर्शनीमा नेपाली प्रतिनिधिहरुले नियमितरूपमा भाग लिंदै आएका छन् । त्यसबाट धेरै कुरा सिक्न सकिने र मेसिन हाम्रो देशमा नबन्ने हुँदा त्यसको लागि पनि यो मेलाले अत्यन्तै महत्व राख्दछ।
प्रदर्शनीमा भाग लिन विभिन्न प्रतिनिधिहरु सँगै यसपटक नेपाल डेरी एसोसिएसनबाट केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल सहित ९ जनाको टिम सहभागी भएको थियो । मेलाबाट डेरी एसोसिएसनका प्रतिनिधिहरुलाई डेरी सम्बन्धित नयाँ नयाँ प्रविधि हेर्ने र सिक्ने मौका मिलेको थियो। त्यहाँ हेर्दा र यहाँ हामीले अहिले भोगेको कुरा हेर्दा आकाश र जमिनको फरक रहेको छ । सरकारको तर्फबाट पनि नेपाली उद्योगीलाई यस्ता किसिमका अन्तरास्ट्रिय मेलाहरुमा सहभागी गराउने हो भने धेरै नयाँ कुरा सिकिने र जोस जाँगर पनि आउने गर्दछ । हाम्रो देशमा निजि क्षेत्रबाट केहि यस्ता प्रदर्शनी भए पनि सरकारले भने गरेको पाँइदैन । सरकारले पनि यस्ता खालका मेला गर्दा उद्योगी व्यवसायीलाई प्रोत्साहन हुनुको साथै हाम्रा उत्पादन बिदेश निर्यात गर्न पनि सहज वातावरण बन्न सक्छ । त्यसकारण पनि यस्ता खालका मेला प्रदर्शनी आयोजना गर्न अत्यन्तै आवश्यक रहेको देखिन्छ । आशा छ अब नेपाल सरकारले पनि यस्ता अन्तरास्ट्रिय मेला नेपालमै आयोजना गरि स्वदेशी उत्पादन निर्यात गर्न सहयोग पुर्याउने छ । साथै बाहिर अन्य देशमा हुने मेलाको अवलोकनका लागि पनि उद्योगी व्यवसायीलाई सहभागी गराई नेपालमा नयाँ प्रविधि भित्र्याउन सहयोग पुर्याउने छ ।








