राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने बताएका छन् ।
नेसनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे ।
बोर्डका अध्यक्ष डा. शर्माले भने, ‘एसइईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अंक नल्याएमा ननग्रेड हुन्छ) प्रणाली लागू हुँदै छ । यस वर्षकै एसइई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ ।
कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा. ताराप्रसाद गिरीले स्कुल जीवनमा नै भविष्य बनाउनुपर्ने भन्दै शिक्षक एवं आमाबुवाको मार्गनिर्देशनमा हिँड्ने व्यक्ति सफल हुने बताए । मार्गनिर्देशनमा नेसनल प्याप्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले अक्षरांक प्रणालीका कारण नपढे पनि उत्तीर्ण भइन्छ भन्ने विद्यार्थी र अभिभावक अझै भ्रममा रहेको बताए ।

कार्यक्रममा पूर्वपरीक्षा नियन्त्रक तथा उपसचिव अर्जुनबहादुर रायमाझी, नेसनल प्याब्सनका केन्द्रीय सदस्य जिबी खड्कालगायतले कोभिडका कारण बिग्रिँदै गएको पढाइको पद्धतिलाई विद्यालय, अभिभावक तथा विद्यार्थी सबैले सुधारेर लैजानुपर्ने बताएका थिए ।