गोल्डेन हर्स फिल्मस् प्रा.लि. ले क्यानडाको नाग्राफल्स सिटिमा आयोजना गर्न लागेको “दोस्रो गोल्डेन हर्स इन्टरनेशनल अवार्ड–२०२३” का लागि आवेदन सार्वजनिक गरेको छ । चलचित्र तथा गीतसंगीत लोक तथा आधुनिक विधा तर्फका ३२ विधामा इच्छुक कलाकर्मीहरूले प्रतिस्पर्धीका लागि आवेदन दिन सक्ने गोल्डेनहर्स फिल्मस् प्रा.लि.का प्रबन्ध निर्देशक तथा अवार्डका अध्यक्ष अच्युत बजगाईंले बताएका छन् ।
नेपाली चलचित्र तथा गीतसंगीतको अन्तर्राष्ट्रिय बजार प्रवर्धन गर्ने प्रमुख उद्धेश्यका साथ अवार्ड समारोहको आयोजना क्यानडामा गर्न लागिएको र यस्ता अवार्ड कार्यक्रमहरूले चलचित्र तथा गीतसंगीतकर्मीहरूको मनोवल बढाउने आयोजकले बताएका छन् ।
प्रतिस्पर्धीका लागि प्राप्त आवेदनहरू मध्येबाट चलचित्र तथा गीतसंगीत विधाका निर्णायक समिति सदस्यहरूले उत्कृष्ट ५ प्रतिस्पर्धीहरूको छनौट गर्नेछन् र सो नामावली संस्थाको वेभसाइट मार्फत सार्वजनिक गरिनेछ भने उत्कृष्ट ५ प्रतिस्पर्धीहरू मध्येबाट सर्वोत्कृष्ट अवार्ड विजेताको नाम क्यानडामा आयोजना हुने अवार्ड समारोह मार्फत घोषणा गरिनेछ ।
आवेदन दिन चाहने व्यक्तिहरूले आवेदन खुला गरिएका विधाहरूमा यथासिघ्र आवेदन दिन सक्नेछन् । प्रतिस्पर्धा गर्न सबैलाई सहज होस भनेर आवेदन फर्म गोल्डेन हर्स फिल्मस् प्रा.लि.को वेभसाइट goldenhorsefilmspvt.com मा राखिएको छ र सोहीबाट डाउनलोड गरि फारम भरेर goldenhorsefilms83@gmail.com इमेल ठेगानामा आवेदन पठाउँन सकिनेछ । प्रतिस्पर्धामा सबैको सहभागिता होस भन्ने दृष्टिकोणले आवेदन निःशुल्क रूपमा भर्ने व्यवस्था गरिएको आयोजकले बताएका छन् ।