प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले काभ्रेको विकट महाभारत गाउँपालिका–५ बुढाखानीमा पुगेर नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको उद्घाटन तथा पिंगथली रजवास भुमिचुली बुढाखानी देवीटार कालोपत्रे सडकको शिलान्यास गरेका छन । सेनाको हेलिकप्टरमार्फत महाभारत पुगेका प्रचण्डलाई स्थानीय र विद्यार्थीले भव्य स्वागत गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले बत्तीको स्वीच अन गरेपछि कार्यक्रमस्थलमा फिट गरेको बत्तीसँगै स्थानीयको घरघरमा जडान गरेका बत्ती एकैपटक बलेका थिए । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार उज्यालो नेपाल अभियानअन्तर्गत पहिलो चरणमा महाभारत गापा–३, ४ र ५ का गरी १ हजार १ घरधुरीमा बत्ती बालिएको छ । महाभारतमा ३ हजार ३ सय घरधुरीमध्ये २ हजार २ सय घरधुरीमा दोस्रो चरणमा बत्ती बल्ने बताए । ती बाँकी वडासमेत अहिले मिटर बक्स जडान भइरहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताए । ‘यसका लागि हिजोका दिनमा तपाईंहरुले दिएको साथ आज पनि चाहिएको छ । यसका लागि म तपाईंहरुसँग सहयोगको अपिल गर्न चाहन्छु‚’ उनले भने । उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताए । ‘अन्यायमा परेकालाई न्याय, समानता र अधिकार चाहिन्छ । सामाजिक न्याय भनेको त्यही हो,’ प्रधानमन्त्रीले भने, ‘देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रुप लिएको छ । जबसम्म भ्रष्टाचारको अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन्।’ उनले जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका ५ वर्षमा एउटा रेकर्ड बनाउन सकिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पूर्व मन्त्री सूर्यमान दोङ, बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, पूर्व खेलकुद विकासमन्त्री रत्न ढकाल, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, खानीखोला गापाका अध्यक्ष इन्द्रबहादुर थिङ लगायतको आतिथ्यता रहेको थियो ।–नव क्षितिज साप्ताहिकबाट