अहिले केही थोरै वित्तिय संस्थाहरुमा बाहेक अन्य संघ संस्थाहरुले आर्थिक संकटको सामना गर्नु परिरहेको छ । धेरै बैंक तथा वित्तिय संस्थासंग विगतको जस्तो लगानी तथा नगद प्रबाह गर्ने अबस्था छैन । कारोबार खातामा छ हातमा छैन । ठूला वित्तिय संस्थाहरुलाई त खासै समस्या नभए पनि साना तथा मझौला प्रकृतिको कारोबार गर्ने संस्थाहरुलाई कार्यालय संचालन गर्न धौ धौको अवस्था सिर्जना भएको छ । विगतमा पूँजी पर्याप्त भएका वित्तिय संस्थाहरुले पनि पछि हुन सक्ने संकटको पूर्वानुमान नगरी लगानी प्रवाहमा जोड दिए । जम्मा पूँजीको १० प्रतिशत तरलता पनि नराखी लगानी गर्नु र कोरोना कहरले थलिएको अर्थतन्त्र उकास्न गाह्रो छ भन्ने कुरा नबुझ्नु गम्भिर त्रुटि थियो ।

वित्तिय संस्थाहरुले लगानी गरेका विगत वर्षको तथ्यांक हेर्दा उत्पादन क्षेत्रलाई भन्दा गैर उत्पादन क्षेत्रलाई राम्रै लगानी गरेको देखिन्छ । गैर उत्पादन क्षेत्र भनेको नागरिक तथा राज्यलाई आवश्यक पर्ने वस्तुको उत्पादन नभै व्यक्तिलाई मात्र नाफा हुने क्षेत्र हो । यि भनेका विलासीतासंग जोडिएका विषय हुन् । उत्पादनका क्षेत्रमा भएका लगानीले बजारमा आवश्यक पर्ने वस्तु उत्पादन गर्छ । वस्तु अनुसारको मूल्य निर्धारण गर्छ र सामान बजार पठाउँछ । बजारबाट आएको रकमले कामदारले पारिश्रमिक पाउँछन् । जनतासंग पैसा भए पछि अन्य व्यापार व्यवसाय राम्रोसंग चल्छ । बजार राम्रोसंग चल्नु भनेको सबै क्षेत्रको पूँजी चलाएमान हुनु हो । सबैतिरको पूँजी चल्नु नै देशको अर्थतन्त्र बलियो हुनु हो । अर्थतन्त्र बलियो हुँदा व्यापारीले राज्यलाई कर तिर्छ । जव जनता राज्यलाई तिर्न सक्ने हुन्छन् तव राज्यको कोष बलियो हुन्छ । यसरी राज्य र नागरिकको हातमा पैसा हुनु भनेको आर्थिक अभाव नहुनु हो । जव राज्यसंग पैसा हुन्छ, त्यही पैसाले विकासका काम हुन्छन् । देशमा विकास हँुदा कयौ नागरिकले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगार प्राप्त गर्दछन् । यसो हँुदा पूँजी राज्यभित्रै परिचालन भैरहेको हुन्छ आर्थिक संकट हुने अवस्था आउने छैन । त्यसैले वित्तिय क्षेत्रले लगानी गर्दा उत्पादन र जनताको दैनिकीसंग जोडिएका वस्तुको उत्पादन गर्ने क्षेत्रलाई प्राथमिकतामा राख्नु जरुरी थियो र आज पनि छ ।

हाम्रो जस्तो सानो मुलुकमा आफ्नै संस्कार र संस्कृति मान्नका लागि चाहिने आवश्यक सामाग्री पनि विदेशी मुलुकले बनाएर पठाई दिनु पर्ने अवस्था छ । ब्राम्हणले लगाउने जनैदेखि बौद्घमार्गीले प्रयोग गर्ने खादामा चिनको भर पर्नु परेको छ । यो त सामान्य कुरा हो । यि भन्दा महत्वपूर्ण अन्य सामाग्रीहरु पनि वार्षिक रुपमा अरबौं रुपैयाँको आउने गरेको छ । हामीलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, मसला एवं केही कच्चा पदार्थको कारोबारमा मात्रै पनि अरबौं रकम विदेश गईरहेको छ । त्यती मात्र होईन गेडागुडी र तरकारीजन्य वस्तुमा पनि ठूलै धनराशी विदेशिने गरेको छ । अब यि वस्तुहरलाई नेपालमै उत्पादन गर्न राज्य र राज्यमा स्थापित बैंक तथा वित्तिय संस्थाले पहल कदमी लिनु नितान्त जरुरी छ ।

अहिले नेपालमा वित्तिय संकटको यो अवस्था निम्तिनुमा सरकार नै जिम्मेवार छ । सरकारले आफ्नो देशको अर्थतन्त्रको अवस्था अनुसार राज्यको खर्चलाई नियन्त्रण गर्न सक्नु पर्दथ्यो । देशको आम्दानीको तुलनामा सत्ताका दल र तिनका कार्यकर्ता पोस्नका लागि अनावश्यक रुपमा मन्त्रालय थप्ने र कार्यकर्ता रिजाउनका लागि नगदै बाँढ्ने सम्मका काम भए । सरकारको स्वामित्वमा रहेका कतिपय संस्थान तथा उस्तै प्रकृतिका संस्थाहरुले कमाएर राज्यलाई बुझाउनुको सट्टा उल्टै तिनलाई सरकारले नै तलब खुवाएर पाल्नु परेको छ । पतिपय संस्थानहरुमा क्षमता भन्दा बढि कर्मचारी राखेर थप धारासायी बनाउँने काम भएको छ । यस्तो अवस्था आउँदा पनि सरकारले आफ्ना कार्यकर्तालाई पोषेर राख्नका लागि पनि वित्तिय अनुसासनको काम गर्न सकेको छैन । सरकार तथा सरकारद्वारा संचालित सबै क्षेत्रहरुमा वित्तिय सुशान कायम गर्न र अवैद्य रुपमा कमाएको सम्पत्ति जफत मात्र गर्न सक्यो भने मात्र पनि राज्य कोषमा खरबौं रकम जम्मा हुन कत्ति पनि दिन लाग्दैन । अहिले देश चै गरिब मुलुकको सूचिमा परे पनि नव धनाढ्यको संख्या चै दिन प्रतिदिन बढ्दो क्रममा छ । यसले के देखाउँछ भने प्रसिद्घ कलाकार पशुपति शर्माको गीतले भने जस्तै ‘लुट्न सके लुट कान्छा’ ले पुष्टि गर्दछ ।

अहिलेको वित्तिय संकट टार्नका लागि यो सरकारले कुनै पनि कार्यक्रम ल्याएको छैन । सरकारले आर्थिक वर्ष भित्र गर्नु पर्ने नियमित काम अन्तर्गतको विकास तथा पूर्वाधारको काम गर्न सकेको छैन । विकास तथा पूर्वाधारको काम गरेर दैनिक झण्डै दुई अर्व भन्दा बढिको काम गर्न सक्नु पर्दछ । तर गर्न सकेको छेन । यसले के बताउँछ भने प्रशासनिक कामको बजेट बाँडचुड गरेर खानमा मात्र यो सरकार केन्द्रीत छ भन्ने ज्वलन्त उदाहरण हो । अबका दिनमा सरकारले विकास बजेट खर्च गर्न सक्ने हो र राज्यको तर्फबाट भैरहेको फजुल खर्चलाई नियन्त्रण गर्न सक्नु पर्दछ । उत्पादनका क्षेत्रमा अनुदान तथा लगानी बढाउँनु पर्दछ । जनताले यो सरकारलाई विश्वास गर्न नसकेर घरमै राखेको पैसा जसरी पनि बैंक तथा वित्तिय संस्थामा ल्याउँन सक्नु पर्दछ । अनि मात्र वित्तिय संकटबाट देशलाई थोरै भए पनि जोगाउँन सकिन्छ । –नव क्षितिज साप्ताहिकबाट