विगत लामो समयदेखि नेपाली कला क्षेत्रको उत्थान र विकासको लागि आफ्नो अतुलनीय योगदान दिँदै आएका कुशल छायाँकार हुन् –ओमा कार्की । रौतहट, सन्तपुरमा २०४९ मा जन्मेकी ओमा कार्की सानै दखि टेलिभिजन हेर्न र सिनेमा हेर्न भनेपछि हुरुक्कै हुन्थिन । त्यो समयमा चलचित्र कसरी र कहाँ खिचिन्छ होला, कसरी तयार हुन्छ होला, अनि कुन प्रकारले टेलिभिजनबाट प्रसारण हुन्छ भन्ने कौतुहलता थियो नै क्यामरा र चलचित्र सम्बन्धि चासो सानैबाट थियो उनमा ।
एसएलसि पछि उच्च शिक्षा हासिलको सिलसिलामा काठमाडौं आईन र आफ्नो चाहनाको बिद्यामा कसरी आगाडी बढ्ने भन्ने सोचले सताईरहेको बेला बरिष्ठ क्यामराम्यान मानबहादुर थापासंगको भेटले उनको क्यामराम्यान बन्ने चाहनामा केही राहत मिल्ने आशा गरिन र क्यामराम्यान थापाले पनि उनलाई ड्रिम्स क्रियशनमा प्रशिक्षण गराउने र आफुसंगै सुटिङमा लैजाने बताएपछि त उनमा खुशिको सिमा नै रहेन ।

बिवाह, ब्रतवन्ध जस्ता कार्यक्रमहरु खिचेर सुरु भएको उनको यात्रा अहिले बृत्तचित्र, टेलिभिजन कार्यक्रम, प्रोफाईल, डकुमेन्ट्री, सन्देशमुलक बिज्ञापन हुँदै चलचित्रसम्म आइपुगिसकेको छ । उनले एभिन्युज टेलिभिजनबाट प्रसारण हुने अफ द बिट, बिषय र विशेष, सशक्तिकरण, क्राईम, समाचार लगायत अन्य चर्चित कार्यक्रमहरुको छायाँकारको रुपमा समेत काम गरिसकेकी छन् भने झण्डै एक वर्ष जनता टेलिभिजनमा रहेर बिभिन्न चर्चित कार्यक्रमको क्यामराम्यानको भुमिका निभाएकी थिइन । उनिले भुकम्पले पारेको असर, वीपीको बिद्रोह, कथा नालापानीको, परिवर्तन, परिणाम, एयर क्राफ्ट म्युजियम, गरिबी लगायत दर्जनौ ऐतिहासिक र सन्देशमुलक चलचित्र एवं बृत्तचित्रहरुको छायाँकन गर्न भ्याइसकेका छन् ।

नेपाली चलचित्र र नेपाली मनोरञ्जनात्मक उत्पादन विश्व बजारसम्म पुग्नुपर्ने र यस क्षेत्रका अग्रज हस्तीहरुले यो विषयमा अलि बढी सकृय हुने हो भने नेपाली चलचित्रले पनि विश्वबजारमा रामै्र स्थान पाउन सक्ने ओमा कार्कीको धारणा छ । टेलिभिजनको स्टुडियो होस वा चलचित्र सुटिङस्पट युनिटमा सबैसंग मिलेर सहकार्य गर्न सिपालु कुशल क्यामराम्यान कार्की बिभिन्न संघसंस्थामा रहेर आफ्नो जिम्मेवारी निभाउदै आउने क्रममा दर्जन बढी अवार्ड र सम्मानबाट सम्मानित भइसकेकी छन् ।

आफ्नो क्षमताका कारण एकपछि अर्को काममा निरन्तर लागिरहेकी कार्की चलचित्र, टेलिचलचित्र र समाचार वाचन नै किन नहोस त्यसको मेरुदण्ड मध्ये छायाँकारको भूमिका पनि महत्वपूर्ण रहने बताउछन् । निरन्तर छायांकनको क्षेत्रमा आफ्नो उपस्थिति खरो रुपमा गराउदै आईरहेका कार्की आफ्नो कामको माध्येमबाट नेपाली कलाप्रेमी र दर्शकको मन मष्तिष्कमा बस्न सफल भएकी छन् ।