बनेपा, आवर स्ट्याण्डर्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाको १४औँ वार्षिक साधारण सभा शनिबार बनेपामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रत्नकुश रञ्जितकारले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष रञ्जितकारले सहकारीलाई सदस्यहरूको साझा संस्था भएको उल्लेख गर्दै सदस्यहरूको विश्वास, सहकार्य र सहभागिताले संस्थालाई थप मजबुत बनाउने बताए । संस्थाका प्रबन्धक राजाराम घोरासाइनेले संस्थाले सञ्चालन गरेका गतिविधि, कार्यक्रम तथा वार्षिक प्रगति विवरणबारे जानकारी गराएका थिए । उनले संस्थाले सदस्यहरूको आर्थिक तथा सामाजिक हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सदस्यकेन्द्रित सेवा र संस्थागत विकासलाई प्राथमिकतामा राखिने बताए । साधारण सभामा संस्थाको वार्षिक प्रगति समीक्षा, आगामी कार्ययोजना तथा सहकारीका नियमित एजेण्डामाथि छलफल गरिएको थियो ।