बनेपा, ट्राफिक प्रहरी काभ्रेले कारबाहीभन्दा जनचेतनालाई प्राथमिकता दिएको छ । पछिल्ला तीन वर्षमा ट्राफिक कारबाही ७० प्रतिशतभन्दा बढीले घटेको छ । सडक दुर्घटनाको संख्या पनि क्रमशः घट्दै गएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ३७ हजार २ सय ५२ वटा ट्राफिक कारबाही भएकोमा आर्थिक वर्ष २०८२÷८३ मा यो संख्या घटेर १० हजार ९ सय ९ मा सीमित भएको छ । राजस्व पनि २ करोड ५१ लाखबाट घटेर ९७ लाख रुपैयाँमा झरेको छ । जरिवाना बढाउनेभन्दा ट्राफिक नियम पालना गर्ने संस्कार विकास गर्ने उद्देश्यले सचेतनामूलक अभियानलाई तीव्र बनाइएपछि आर्थिक वर्षमा मात्रै ४ हजार ३ सय ३१ वटा सचेतनामूलक कार्यक्रममार्फत ३ लाख ४५ हजारभन्दा बढी नागरिकलाई ट्राफिक शिक्षा प्रदान गरिएको श्रेष्ठले बताए । सडक दुर्घटनाको तथ्यांक पनि सुधारोन्मुख देखिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा १ सय ८१ दुर्घटना भएकोमा गत आर्थिक वर्षमा १ सय ३८ मा झरेको छ । यद्यपि मृत्यु र घाइतेको संख्या अझै चुनौतीकै रूपमा रहेको ट्राफिक प्रहरीको भनाइ छ ।