बनेपा, एक वर्षभन्दा कम समयावधि भएका साढे ३ लाख सवारी चालक अनुमतिपत्र तत्काललाई नछापिने भएको छ । पुराना मितिका २९ लाख सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मध्ये साढे ३ लाख तत्काललाई नछापिने भएको हो । एक वर्षभन्दा कम समयावधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन् ।
तर तत्काल चाहिएको अवस्थामा निवेदनका आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले बताएको छ । छापेर कार्यालयमा पठाउँदा समय लाग्ने र सम्बद्ध व्यक्तिहरूले लिन आउन पनि ढिला गर्ने भएकाले यस्तो लाइसेन्स नवीकरणपछि मात्र छापेर दिइने विभागको भनाइ छ । अहिले लाइसेन्सको समयावधि पाँच वर्षको छ । अहिले छापेर दिइए पनि समय सकिएपछि पुनः नवीकरण गर्नुपर्ने भएकाले एक वर्षभन्दा कम समय भएका लाइसेन्स नछाप्ने निर्णय गर्ने तयारी भएको विभागका निर्देशक केशव खतिवडाले जनाए । ‘अहिले छपाइ गर्ने क्रममा प्रणालीमा हेर्दा करिब साढे ३ लाख लाइसेन्स एक वर्षभन्दा कम समयावधिका छन्,’ उनले भने, ‘जसमा ६० देखि ७० प्रतिशत लाइसेन्स प्रयोगकर्ता विदेशमा छन् । नवीकरण गरेपछि लाइसेन्स वाहकले कुनै कार्य गरेको देखिँदैन, क्याटगरी थप गरेको पनि देखिँदैन ।’ गत शुक्रबार मात्र १ हजार ३ सय लाइसेन्स मिति सकिएका भेटिएको खतिवडाले सुनाए ।
कानुनी रूपमा भन्दा पनि व्यावहारिक पक्ष हेर्दा नछाप्दा हुने देखिएको उनले सुनाए । व्यावहारिक रूपमा उपयुक्त नदेखिएको, यसले राज्यलाई घाटा र सर्वसाधारणलाई पनि छिटो नवीकरण गरिहाल्नुपर्ने बाध्यता रहने भएकाले नछाप्ने निर्णय गर्न लागिएको खतिवडाको भनाइ छ । अब नवीकरण गर्दा लाइसेन्सको अवधि १० वर्ष रहनेछ । छापेर पठाएका कतिपय लाइसेन्स कार्यालयमै थन्किएर बस्ने गरेका छन् । नवीकरण गर्दा मिति सकिएको अवधिबाट लाइसेन्सको समय गणना हुन्छ । १४ साउन २०८० बाट पाँच वर्षको सट्टा १० वर्षे अवधि लागू भएको हो । ‘नयाँ अवधि तोकिएको लाइसेन्स र पाँच वर्ष अवधि भए पनि राजस्व उति नै तिर्नुपर्छ,’ खतिवडाले भने । अहिले संघ सरकारअन्तर्गत रहेका यातायात व्यवस्था विभागको समन्वयमा लाइसेन्स छापेर वितरण गरिए पनि नवीकरण प्रदेशअन्तर्गतका यातायात व्यवस्था कार्यालयमार्फत नै हुन्छ ।
अहिले २९ लाख लाइसेन्समध्ये १८ लाख २ हजार २ सय ४८ लाइसेन्स छापिइसकेका छन् । ८८ हजार ४ सय ९५ लाइसेन्स प्रक्रियामा रहेको र १० लाख ९ हजार २ सय ५७ लाइसेन्स छाप्न बाँकी छ । २९ लाखमा सुरुमा १२ लाख लाइसेन्स छपाइका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १२ कात्तिक २०८२ मा सम्झौता भएको थियो । सम्झौताअनुसार केन्द्रले १२ वैशाख २०८३ भित्र छपाइ गरेर दिइसक्नुपर्ने थियो । त्यहीअनुसार केन्द्रले १२ लाख लाइसेन्स छापेर विभागलाई बुझाएको थियो । बाँकी १७ लाख लाइसेन्स ३२ असारभित्र छापिसक्ने गरी ४ वैशाखमा दोस्रो चरणको सम्झौता भएको थियो ।