नेकपा एमालेले मिसन जागरण अभियानको विस्तृत व्याख्यासहितको कार्ययोजना पठाएको छ । पार्टीका सबै केन्द्रीय सदस्यको जिम्मेवारीसहित पठाइएको मिसन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पार्टीले हार व्योहोर्नुका कारण, कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनुको कारण आदि विस्तृत रूपमा केलाइएको छ ।
मुख्यगरी २०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्तावेजमा उल्लेख गरिएको छ । पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आमजनतासम्म पुगेको एमालेको ठक्याइ छ । जसका कारण २३ र २४ भदौका घटना भएको र मुलुकलाई नियोजित प्रतिगमनतर्फ धकेलिएको दस्तावेजमा उल्लेख गरिएको छ । जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले ‘६ ज’ को नीति अघि सारेको छ । जसअनुसार ‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसंगठन परिचालन गरौँ, जबजलाई आत्मसात गरौँ र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिष्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौँ’, एमालेको दस्तावेजमा उल्लेख गरिएको छ । एमालेले डिजिटल संगठन र प्रभावकारी प्रचारलाई प्राथमिकतमा राखेको छ । पार्टीले सामाजिक सञ्जालको व्यापक प्रयोग गर्न कार्यकर्तालाई निर्देशन जारी गरेको छ ।