धुलिखेल, अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य पछिल्लो समय निर्माण सामग्रीको अभावका कारण काम प्रभावित बनेको छ । लामो समयदेखि धुलो, हिलो तथा जामको समस्या भोग्दै आएका स्थानीयवासी र यात्रुहरू सडक निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको बेला निर्माणको गति सुस्त बनेको हो ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार धुलिखेल चोकबाट करिब ४ किलोमिटर लम्बाइ रहेको यस सडकखण्डमध्ये पहिलो चरणमा २.५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ भने बाँकी १.५ किलोमिटर खण्डमा दोस्रो चरणअन्तर्गत कालोपत्रे गरिने प्रक्रियामा छ ।
सरकारबाट ४२ करोड रुपैयाँ स्रोत सुनिश्चित गरी १४ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित गत साउनमा नयाँ ठेक्का आह्वान गरिएको थियो । नयाँ ठेक्का प्राप्त निर्माण कम्पनीले मनसुन सुरु हुनुअघि नै सडकमा पिचको काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो । यसअघि २०७९ जेठ २० गते २२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी एक कम्पनीले ठेक्का पाएको थियो । तर निर्धारित समय सकिएको ११ महिनासम्म पनि काम सम्पन्न हुन नसकेपछि २०८१ फागुन २५ गते सडक डिभिजन कार्यालय भक्तपुरले उक्त ठेक्का रद्द गरेको थियो ।
अहिलेको निर्माण कम्पनीका अनुसार ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिश्रित बेस राख्ने तथा त्यसपछि डिबिएम र अस्फाल्टको दुई तहमा कालोपत्रे गरिएको छ । हालसम्म सडकको अधिकांश भागमा बेस, सब–बेस तथा पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको छ । धुलिखेल बजार क्षेत्रदेखि खावा आसपाससम्मको मुख्य खण्डमा कालोपत्रे गरिएको छ भने केही स्थानमा अन्तिम तहको कालोपत्रे, सडक किनार व्यवस्थापन, नाली निर्माण तथा लेन मार्किङका काम बाँकी रहेका छन । तर बिटुमिन, क्रसिङ सामग्रीलगायत आवश्यक निर्माण सामग्रीको आपूर्तिमा समस्या देखिएपछि अन्तिम चरणका काम प्रभावित बनेका हो । स्थानीयवासीका अनुसार केही महिनाअघि दैनिक रूपमा हेभी उपकरण परिचालन गरी कालोपत्रे र ग्राभेलिङको काम भइरहेको थियो । तर पछिल्लो समय निर्माणस्थलमा उपकरण र कामदारको उपस्थिति समेत घटेको छ । यसले सडक छिट्टै सम्पन्न हुने अपेक्षा गरेका स्थानीयवासीलाई निराश बनाएको छ । निर्माण पक्षले सामग्री आपूर्तिको समस्या समाधान हुनासाथ बाँकी कामलाई तीव्रता दिइने जनाएको छ ।








