बनेपा, २०८३ वैशाखदेखि जेठ १०गतेसम्म भएका एक हजार ३४२ विपद्जन्य घटनामा देशभर ७० जनाले ज्यान गुमाएका छन । यस अवधिमा ३३३ जना घाइते भएका छन । अझै यो क्रम जेठ असारमा बढ्न सक्ने हुँदा सबै सचेत बन्न आवश्यक छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार, सबैभन्दा बढी लेक लागेर १६ जना, चट्याङबाट १४ र आगलागीमा ११ जनाले ज्यान गुमाएका छन् । हुरीबाट नौ, जनावरको आक्रमणमा आठ, सर्पदंशबाट पाँच, पहिरोमा परी दुई, डुंगा पल्टिएर दुई र डढेलो, बाढी र हिउँपहिरोमा परेर एक÷एकजनाको मृत्यु भएको छ । ती विपद्का घटनाबाट एक हजार ६२१ परिवार प्रभावित भएका प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
विपद्जन्य घटनाको संख्या हेर्दा सबैभन्दा बढी आगलागीका ४८८ वटा भएका छन् । हुरीका २३०, चट्याङका १३९ र सर्पदंशका १०५ घटना भएका छन् । पछिल्लो २४ घण्टामा मात्र विपद्जन्य घटनामा परेरका तीन जनाको मृत्यु भएको छ । ३२ घटनामा १३ जना घाइते र १७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्राधिकरणले जनाएको छ । देशमा मनसुन प्रवेशको चरणमा रहेका बेला बाढीपहिरो र कतै तातो हावाको लहर जारी छ । नेपाल विपद् जोखिमको हिसाबले अत्यन्त संवेदनशील क्षेत्रमा पर्दछ । पछिल्ला तथ्यांकहरू हेर्दा बाढी, पहिरो, आगलागी, चट्याङ र हावाहुरी जस्ता विपद्जन्य घटनाबाट वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ । त्यसैले, सधैं पूर्वतयारी र सचेतना अपनाउनु नै सुरक्षित रहने उत्तम उपाय हो ।