बनेपा, नेपालमा चैतदेखि वैशाखसम्म प्रि-मनसुन अवधिमा असाधारण रूपमा पटकपटक वर्षा, असिना र हिउँ परेको छ । जेठ महिनामा पनि पानी पर्ने सम्भावना रहेकाले यस वर्षको प्रिमनसुन अवधिमा वर्षाको मात्रा अझै बढ्ने निश्चित छ ।
मौसमविद्हरूले एलनिनो प्रभावका कारण यस वर्ष मनसुन अवधिमा कम वर्षा र बढी गर्मी हुने पूर्वानुमान गरेका छन् र सतर्कता अपनाउन सुझाव दिएका छन । यस वर्ष मनसुनजन्य विपदबाट २ लाख २६ हजार जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने आकलन गरेको हो । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने प्रक्षेपण गरिसकेको छ । यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढी जस्ता मनसुनजन्य विपद्को जोखिम हुने सम्भावना छ ।
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना स्वीकृत गरेको छ । बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालनसम्बन्धी मापदण्ड, २०८३ परिमार्जनसहित स्वीकृत गरेको छ । यसले विपत् हुने बित्तिकै सरकारी संयन्त्रहरू स्वतः परिचालित हुने गरी कानुनी बाटो खोलेको प्राधिकरणले जनाएको छ ।
संगै यस वर्षको मनसुन सामान्यभन्दा करिब एक हप्ता अगावै सुरु भएको छ र नेपालमा अझै केही हप्ता लाग्ने अनुमान छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले शनिबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार यस वर्षको मनसुन १६ मेदेखि दक्षिण–पूर्वी अरब सागर, दक्षिण–पश्चिम र दक्षिण–पूर्वी बङ्गालको खाडीका विभिन्न भागहरूमा फैलिएको छ । सामान्यतया भारतमा मनसुन भित्रिएको हप्ता–दश दिनभित्र नेपालमा मनसुन आइपुग्छ । तर सधैं यस्तै अवस्था हुन्छ भन्न नसकिने मौसमविदहरु बताउँछन् ।
वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मनसुन भित्रिएको घोषणा गर्न विभिन्न पारामिटरहरु हेर्ने गरिन्छ । ‘सामान्यरुपमा बुझ्दा मनसुन भित्रिन अहिले नेपालमा कायम पश्चिमी वायुको प्रभावलाई पूर्वी वायुले विस्थापित गर्नुपर्छ,’ वरिष्ठ मौसमविद पौडेल भन्छन्, ‘त्यसबाहेक एन्टी साइक्लोन (तिब्बतीयन हाई) अलिकति माथितिर (उत्तरतिर) सर्नुपर्छ, नेपालको उपल्लो वायुमण्डलको अवस्था कस्तो छ, यस्ता थुप्रै प्राविधिक कुराहरु हेरेर मनसुन भित्रिएको हो कि होइन भनेर निष्कर्ष निकालिन्छ ।’ यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ । यसले बाढी, पहिरो, डुबान र कटानले जनधनको क्षति हुने गरेको छ ।
मौसमविद्हरूका अनुसार अहिले भइरहेको वर्षा नेपालमा प्रि–मनसुन अर्थात् मनसुनअघिको मौसमी प्रणालीको सक्रियता हो । प्रि–मनसुन भन्नाले मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् मार्च, अप्रिल र मे महिनाको अवधिलाई बुझिन्छ । यो अवधिमा प्राय गर्मी हुन्छ । तर यस वर्ष वैशाखसम्मै पटक–पटक पानी, असिना, हिउँ परेको छ । केही ठाउँमा हावाहुरी र चट्याङले पनि दुःख दिएको छ । यस्तो अवस्था यो जेठ महिनामा पनि कायम रहने सम्भावना रहेको मौसमविदहरु बताउँछन् । नव क्षितिज साप्ताहिकबाट







