बनेपा, काभ्रेपलाञ्चोकका २ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भैसकेर अहिले समानुपातिकको मतगणना जारी रहेको छ । मत परिणामअनुसार क्षेत्र नम्वर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाई २९ हजार ६९८ मत प्राप्त गरेर विजयी बनेका छन् । त्यसैगरी क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बदन भण्डारीले ५३ हजार ३ सय ४४ मत प्राप्त गरेर विजयी बनेका छन् ।
काभ्रे क्षेत्र नम्वर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाईले सबैभन्दा धेरै २९ हजार ६९८ मत प्राप्त गर्दा नेपाली काँग्रेसका गुणराज तामाङले १९ हजार १६६ मत प्राप्त गरेर दोस्रो बनेका छन् । तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टीका दिनानाथ गौतम रहेका छन् । उनले १४ हजार १८४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अमि तामाङ १३ हजार ८१४ मत प्राप्त गर्दै चौथो भएका छन् । उज्यालो नेपाल पार्टीका योगेन्द्र लामाले ७ हजार ४०३ मत प्राप्त गरेका छन् ।
बाँकी दल तथा स्वतन्त्र उम्मेदवारहरूले निकै न्यून मत पाएका छन । यो निर्वाचन क्षेत्रमा सात जना उम्मेदवारले सयभन्दा कम मत प्राप्त गरेका छन । जनता समाजवादी पार्टी नेपालका मानबहादुर तामाङले ७१ मत, नेपाल मजदुर किसान पार्टीका राजु तामाङले ५२ मत र प्रगतिशील लोकतान्त्रिक पार्टीका ज्ञानेन्द्रकुमार श्रेष्ठले ५६ मत, समावेशी समाजवादीका विनोद लामाले ५० मत, नेशनल रिपब्लिकन नेपालका भरत तामाङले ३५ मत तथा स्वतन्त्र उम्मेदवार जीवन लामाले ९४ मत प्राप्त गरेका छन् । सबैभन्दा कम मत प्राप्त गर्ने स्वतन्त्र उम्मेदवार युवराज चौलागाई बनेका छन् । उनले जम्मा ७ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवराज सत्यालले ६९९ मत पाएका छन् । त्यसैगरी श्रम संस्कृति पार्टीका धिराज लामाले २८७ मत, मंगल नेशनल अर्गनाईजेशनका कमलबहादुर लामाले १५६ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कान्छा तामाङले १४९ मत, संयुक्त नागरिक पार्टीका रत्न लामाले ११४ मत तथा स्वतन्त्र उम्मेदवार राजेशकुमार श्रेष्ठले १६९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी काभ्रे क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बदन भण्डारीले ५३ हजार ३ सय ४४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८ सय ६८ मत प्राप्त गरे । नेकपा एमालेका अशोक ब्याञ्जुले १३ हजार ९ सय ४० र नेकपाका बसुन्धरा हुमागाईले ८ हजार १ सय ७ मत प्राप्त गरे । उज्यालो नेपाल पार्टीकी ज्योत्सना सैंजुले ३ हजार ७ सय ४९ मत प्राप्त गरिन भने राप्रपाका रञ्जिव श्रेष्ठले ११ सय २५ मत प्राप्त गरे ।
यो क्षेत्रमा सबैभन्दा कम मत पाउने उम्मेदवार स्वतन्त्र उम्मेदवार केशवराज तिमिल्सिना रहेका छन् । उनले जम्मा ४ मत मात्र प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार लेनिन विष्टले ८ मत पाएका छन् । मितेरी पार्टी नेपालका उम्मेदवार हरीबहादुर थापाले १० मत । स्वतन्त्र उम्मेदवार गणेशप्रसाद अधिकारीले ११ मत र स्वतन्त्र उम्मेदवार विष्णुकुमार श्रेष्ठले १३ मत प्राप्त गरे । संगै सुकमान तामाङ (नेशनल रिपब्लिकन नेपाल) १५ मत, सीताराम मैनाली (स्वतन्त्र) २१ मत, उमेश थापा (स्वतन्त्र) २६ मत, उमेश लामा (मंगोल नेशनल अर्गनाइजेशन) २८ मत, राजन थापा (नेकपा संयुक्त) २८ मत, रकम लामा (जनता समाजवादी पार्टी) ३२ मत, डिल्लीप्रसाद न्यौपाने (स्वतन्त्र) ३१ मत, सुवर्णविक्रम थापा (राष्ट्रिय जनमोर्चा) ३९ मत, आशा तामाङ (स्वतन्त्र) ले ५९ मत प्राप्त गरेका छन ।
काभ्रेपलाञ्चोकका २ वटा क्षेत्रका ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत भएको छ । १ लाख ६५ हजार ५११ मतदाता रहेको २ नम्बर क्षेत्रमा १ लाख ४ हजार ६४२ मत खसेको थियो । त्यसमध्ये ९९ हजार ५८० मत सदर तथा ५ हजार ६२ मत बदर भएको थियो । निर्वाचन क्षेत्रमा जम्मा सदर मतको दश प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान अनुसार काभ्रे क्षेत्र नम्बर २ मा २४ उम्मेदवार मध्ये २१ जनाको जमानत जफत भएको छ । यस क्षेत्रका विजयी उम्मेदवार बदन भण्डारी, नेपाली कांग्रेसका मधु आचार्य र नेकपा एमालेका अशोक व्याञ्जु बाहेक सबै उम्मेदवारको जमानत जफत भएको हो ।
त्यस्तै क्षेत्र नम्बर १ मा १८ उम्मेदवार मध्ये १४ जना उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका उम्मेदवार बाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ । १ लाख ६१ हजार १०० मतदाता रहेको यस क्षेत्रमा ९१ हजार १०१ मत खसेको थियो । निर्वाचन परिणामको तथ्यांकअनुसार जिल्लामा १० हजार ३९ मत (५ प्रतिशत) बदर भएको छ । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ६५ हजार ५११ मतदाता मध्ये १ लाख ४ हजार ६४२ मतदाता मतदानमा सहभागी भएका थिए । यस क्षेत्रमा कुल खसेको मत मध्ये ९९ हजार ५८० सदर र ५ हजार ६२ मत बदर भएको छ । त्यस्तै काभ्रे निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ६१ हजार १ सय मतदातामध्ये ९१ हजार १०१ मतदाता मतदानमा सहभागि भएका थिए । यस क्षेत्रमा खसेको मत मध्ये ८६ हजार १२४ मत सदर भएको छ भने ४ हजार ९७७ मत बदर भएको हो ।








