बनेपा, आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । आजदेखि घोडा वर्ष शुरु हुनेछ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ ।
समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रूपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइँदै छ ।
यस चाडलाई नेपालमा सोनाम ल्होसार÷लोसार र भारतको सिक्किम, दार्जिलिङ आदी स्थानहरूमा “सोनाम ल्होछार” को नामबाट चिनिन्छ जहाँ लामो समयदेखि तामांङ्ग समुदायहरू बसोबास गर्दै आएका छन । सोनाम ल्होसार तामांङ्ग समुदायको सबैभन्दा महत्वपूर्ण र सबैभन्दा ठुलो उत्सव हो । यो पर्व नेपालका कुनाकाप्चा मा बस्ने तामांङ्ग समुदाय सहित विश्व भरि छरिएर रहेका तामांङ्ग समुदायले ठुलो आस्था र हर्षोल्लास का साथ मनाउने गर्दछन ।
काठमाडौँ सहर विभिन्न जात–जातीहरूको एक साझा केन्द्र भएकोले आज काठमाडौँ भित्र र यस सहर वरिपरि बस्ने तामांङ्गहरु सोनाम ल्होसार मनाउन यसको मध्य भागमा रहेको टुँडिखेलमा भेला हुन्छन । त्यहाँ लोक – दोहोरी प्रतियोगिता, नाटक, र फुड फेस्टिभल जस्ता आकर्षणहरूका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरिएका हुन्छन । तामांङ्गहरु भेला भएको उक्त समूहमा उनीहरू आफ्नै जातीय पोसाकमा देख्न सकिन्छ, महिला र केटीहरूले उनीहरूको परम्परागत लुगा लगाएका हुन्छन्, त्यस्तै पारम्परिक टोपीसहित विभिन्न गहनाहरूले सजिएका हुन्छन्, भने पुरुषहरू पनि खास किसिमको परम्परागत तामांङ्ग पोसाकमा संलग्न हुने गर्छन । यो पर्वको सबैमा शुभकामना ।









