धुलिखेल, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तयारी तीब्र पारेको निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले प्राय सम्पूर्ण तयारी पुरा गरेको छ । सँगै दलहरुले पनि धमाधम उम्मेदवार टुंगो लगाउन थालेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन तयारी बारेमा सरोकारवाला निकायसँग अन्तक्र्रिया र पत्रकार सम्मेलन गर्दै हालसम्म भएका कामहरुका बारेमा निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको हो । निर्वाचन कार्यक्रम तथा मनोनयन दर्ता सम्बन्धी समेत तयारी पुरा गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी गराउनुभयो ।
शिवाकोटीका अनुसार जिल्लामा १८९ वटा मतदानस्थल तथा ४०० वटा मतदान केन्द्र रहेका छन् । काभ्रेमा १४ हजार ३३० नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुसार गत असोज १० देखि मंसिर ३० गतेसम्म सो संख्यामा मतदाता थपिएका हुन् । जिल्लामा अघिल्लो निर्वाचनमा प्रतिनिधि सभाका २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका चार क्षेत्र विभाजन गरिएको थियो । अहिले पनि सोही संख्यामा क्षेत्रहरु छन् । ३ लाख ७५ हजार २ सय २१ जनसंख्या रहेको यस जिल्लामा गत असोज १० गतेसम्म ३ लाख १२ हजार ३ सय १६ मतदाता थिए । जसमा पुरुषको संख्या १ लाख ५९ हजार २०५, महिलाको संख्या १ लाख ५३ हजार ११० र अन्य २ जना रहेको तथ्यांक थियो । त्यसयता नयाँ तथ्यांक अनुसार कुल संख्या ३ लाख २६ हजार ६११ पुगेको हो । ६ वटा नगरपालिका, ७ वटा गाउँपालिका, १ सय ३५ वडा रहेको जिल्लामा निर्वाचन कार्यालय स्थापना, उम्मेद्वारी मनोनयन तालिका र मनोनयन पत्र, मतदान र मतगणनामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली, उम्मेद्वारको योग्यता लगायतका विषयमा जानकारी गराउनुभयो ।
निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलको शिक्षा तालिम केन्द्रमा स्थापना गरिएको छ । साथै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ को कार्यालय मुख्य निर्वाचन अधिकृतकै कार्यालयमा स्थापना गरिएको छ भने क्षेत्र नम्वर १ को कार्यालय पनौती नगरपालिकामा स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नम्वर २ को अधिकृतमा न्यायाधीश प्रेमप्रसाद न्यौपाने रहेका छन् भने क्षेत्र नम्वर १ का लागि जिल्ला न्यायाधीबक्ता टिकाभुषण घिमिरे नियुक्ति भएका थिए ।
संगै दलहरुले पनि धमाधम उम्मेदवार टुंगो लगाउन थालेका छन् । नेकपाले काभ्रेमा १ मा दिनानाथ गौतम र क्षेत्र नं. २ मा बसुन्धरा हुमागाईलाई उम्मेदवार बनाएको छ ।
काभ्रे क्षेत्र न १ मा एमालेले अमित लामालाई उम्मेदवार बनाएको छ । अन्य दल र क्षेत्रमा पनि चाडै उम्मेदवार टुङगाउने गरी दलहरु लागेका छन ।