काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा आज बिहान सवा १० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने र उजुरी दिने समय साढे २ बजेदेखि ३ बजेसम्म तोकिएको छ।
नेतृत्व चयनका लागि आवश्यक परे मतदान समेत गर्ने भनेर सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार आज बिहान सवा १० बजे मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ । लगत्तै दिउँसो १स्३० बजेसम्म उम्मेदवारहरुको दरखास्त फारम दर्ता गर्ने कार्यक्रम छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ । त्यसपछि उम्मेदवारहरुको प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरु हुने छ । उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

त्यसपछि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने गरी कार्यतालिका तयार पारिएको छ । निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरे पनि शीर्षतहमा सहमतिको प्रयास भइरहेको छ । अध्यक्ष ओली पक्षका नेताहरु अध्यक्षमा ओलीलाई नै निरन्तरता दिने र अन्य पदमा निर्वाचन गराउने पक्षमा देखिएका छन् ।