शनिबार भक्तपुरको सल्लाघारीस्थित मैदानमा भव्य रुपमा उद्घाटन भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र जारी रहेको छ ।
देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरका हुन । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा जारी छ । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो मन्दिर एवं विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको काख सल्लाघारीमा कलात्मक ढङ्गबाट बनाइएको मञ्च आकर्षणको केन्द्र बन्यो । महाधिवेशनमा बनाइएको ‘स्टेज’ले इतिहास र धार्मिक महत्वको मात्र प्रचार गरेन, मन्दिरको महत्वसँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने सहभागी बताउछन् । एमालेको महाधिवेशनमा समावेश गरिएका विभिन्न जातजाति, वेशभूषा एवं कला र संस्कृति झल्कने बाजागाजा, झाँकी एवं नृत्यदेखि नेवार समुदायमा ज्येष्ठ नागरिकले मनाउने जङ्कुसमेतको प्रदर्शनले महाधिवेशनको उद्घाटनसत्रलाई रौनकता थपेको देखिन्थ्यो । भक्तपुरका चारवटै पालिकाबाट आएका बाजागाजासहितको र्यालीमा धिमेबाजा, बैण्डबाजा, बाँसुरी बाजा, न्याउली बाजासहित नेवार सुमदायका महिलाले लगाउने पहिरन हाकुपटासीमा नृत्य, मगर, लामालगायत विभिन्न जातजातिको सांस्कृतिक झल्कोसहितको नृत्य, झाँक्री नृत्यलगायतको प्रदर्शनले उद्घाटनस्थललाई रोमञ्चित बनाएको थियो ।
त्यसैगरी, विभिन्न जिल्लाबाट आएका सहभागी सम्मिलित स्थानीय बाजा तथा सांस्कृतिक नाचसहितको र्याली हेर्नलायक देखिन्थ्यो । सहभागीहरू स्वःस्फूर्त रूपमा नाचगान गर्दै रमाइरहेका देखिन्थे । सल्लाघारीस्थित चौरमा कोही भाषण सुन्नमै मस्त थिए भने केही चौरमा विभिन्न जातजातिको पहिचान बोकेको नृत्यमाण्डलीसँगै मिसिएर नाचगान गर्न तल्लिन देखिन्थे । कार्यक्रमस्थलमा भक्तपुरको नेवार समुदायले ९९ वर्षीया हजुरआमालाई जङ्कुको भेषमा सिङ्गारिएको रथमा राखी ६ छोरानातिले बोकेर कार्यक्रमस्थलको अग्रभागमा प्रवेश गर्दा निकै रौनकता थपेको थियो ।
एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले पार्टीले र्याली आउने रुट निर्धारण गर्दै सर्भिस ट्रयाकमात्र प्रयोग गर्न ठाउँठाउँमा स्वयंसेवक र जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी परिचालन गरेकाले सडक अवरुद्ध नभएको बताए । एमालेको उद्घाटनस्थलमा भक्तपुरको पहिचान बोकेको जुजुधौदेखि नेवारी खाजासम्मका परिकारले सहभागीलाई सहज मात्र बनाएन विशेषगरी साना व्यापारी लाभान्वित भए ।
महाधिवेशन उद्घाटनस्थलको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले तीन तहको सुरक्षा तैनाथ गरेको जानकारी दिँदै सुरक्षा व्यवस्थालाई साँझसम्म नै मजबुत बनाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनले बिहान ‘बम डिटेक्टर’ उपकरण प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा सुक्ष्म जाँच गरेको, सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सादा पोसाकका प्रहरी गरी दुई हजार ५०० सुरक्षाकर्मी परिचालन गरेको, सभास्थलमा राखिएका सिसी क्यामेराबाटसमेत निगरानी गरेको बताए ।
महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । अध्यक्ष ओलीले अनेक चुनौती र प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताए । एमाले कुनै राजनीतिक ‘स्टन्ट’ नगरी समृद्ध मुलुक बनाउने सङ्कल्पमा अग्रसर रहने जनाउँदै सुशासन र विकास चाहने सम्पूर्ण शक्तिले एमालेलाई साथ दिएको उल्लेख गरे ।
सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ हामी अघि बढिरहेका छौँ”, अध्यक्ष ओलीले भने, “कम्युनिष्ट पार्टी जति बलियो भयो, त्यति नै राष्ट्रियता बलियो हुन्छ । एमाले सामाजिक न्याय र सामाजिक न्यायको सुरुआती अभियन्ता पार्टी हो । नागरिकले जीवनको आधार यही शक्ति हो ।” महाधिवेशनको विशाल उपस्थितिलाई बेवास्ता नगर्न स्मरण गराउँदै उहाँले विघटित संसद् पुनःस्थापना हुनेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष ओलीले बताएका थिए ।








