जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले २५१ जनालाई पक्राउ गरेको छ ।

११ कात्तिकसम्मको विवरण अनुसार देशभरबाट २५१ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए । उनका अनुसार सबैभन्दा काठमाडौंमा ९९ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई कर्तव्य ज्यानदेखि आपराधिक उपद्रव, हातहतियार खरखजना, चोरी र अभद्रको कसुरमा मुद्दा चलाइएको छ ।

त्यसैगरी ललितपुरमा २६ जना पक्राउ परेका छन् । भक्तपुरमा २१ जना पक्राउ परेका छन् । बाँकी अन्य जिल्लाहरूमा पक्राउ परेका हुन् । तोडफोड, आगजनी तथा लुटपाट जस्ता गतिविधिमा संलग्नहरू सबैलाई पक्राउ गरेर कानूनी दायरामा ल्याइने प्रवक्ता घिमिरेले बताए । उनका अनुसार प्रहरीको मेलमा आगजनी तथा तोडफोड, लुटपाट जस्ता गतिविधिका ३६ हजार भन्दा बढी भिडियो, फोटोहरूसहितको मेल आएका छन् । प्राप्त भिडिओ, फोटोहरूको आधारमा व्यक्ति पहिचान गरेर कारबाही गरिने प्रहरीले बताएको छ ।