बनेपा, नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको असोज ३ गते बसेको जिल्ला कार्यसमितिको बैठकले जेन्जि आन्दोलनको नाममा भएको तोडफोड र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाली एक समिति बनाएको छ । पार्टी कार्यालयमा भएको तोडफोड आगजनीमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन पार्टीको तर्फबाट कानुनी उपचारको लागि उपसभापति रमेश हुमागाईको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएर जिम्मेवारी दिने निर्णय गरेको हो ।
समितिमा महेश कुँवर र सन्तोष गौतम सदस्य रहेका छन । नेपाली कांग्रेस केन्द्रीय कार्यालको परिपत्र अनुसार काभ्रे जिल्लामा व्यक्तिगत र सार्वजनिक सम्पत्तिको क्षतिगत तथ्य विवरण संकलनको लागि सचिव गुणराज मुक्तानको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन गरिएको छ । तोडफोड र आगजनीमा पार्टीको कुनै सदस्य संलग्न भएको भए प्रमाण संकलनको लागि सचिव माधव ढकालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
त्यस्तै नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेको कार्यालय भवन पुननिर्माण र मर्मतको लागि सह–सचिव समीर व्याञ्जु श्रेष्ठको संयोजकत्वमा सहसचिव रवीन्द्रनाथ सिग्देल, प्रवक्ता सन्तमान तामाङ, जिल्ला सदस्य रामराज जोशी र सनिता न्यौपाने बजगाई सदस्य रहेको समिति गठन गरेको छ । बैठकले आन्दोलनमा ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली र पार्टी सभापति शेरवहादुर देउवा लगायत घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।








