चाडपर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ। जेन जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले सहुलियत पसल सञ्चालनमा अन्योल बने पनि सेनाको निषेधाज्ञा र कर्फ्यु् हटेसँगै खाद्यले सञ्चालन गर्ने निर्णय गरेको हो।
सहुलियत पसल सोमबारदेखि ४५ जिल्लाका १११ स्थानबाट सञ्चालन हुन्छ। सर्वसाधारणले खाद्यका आउटलेट र बिक्री केन्द्रबाट छुटका सामान किन्न सक्छन्,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले भने, ‘साथै अनलाइनबाट पनि बिक्री गर्छौं।’ खाद्यका अनुसार सबै किसिमका चामल, चिनी, गेडागुडीमा प्रतिकिलोमा ५ रुपैयाँ छुट पाइने छ। खाने तेल, चिउरा, आटा, मैदामा प्रतिकिलोरलिटरमा ७ रुपैयाँ छुट र चिउरा, जिरारधनियामा प्रतिकिलो १० रुपैयाँ छुट पाइने जनाएको छ।
यस वर्ष सहुलियत खसीबोका र च्याङ्ग्राको बिक्री भने अनिश्चित बनेको आचार्यले बताए। खसीबोका र च्याङ्ग्रा बिक्री गर्न खाद्यले अग्रिम अनलाइन बुकिङ गरेको थियो। तर सामाजिक सञ्जाल बन्द भएपछि प्रक्रिया रोकिएको हो।







