अहिले देशको अर्थतन्त्र डामाडोल अवस्थामा छ । यतिखेर नगद अर्थात रुपैयाँ सबै प्रकारका बिचौलियाहरुसंग मात्र छ । मुठ्ठिभरका मान्छेहरुसंग बाहेक अरु संग नगद छैन । विगत एक वर्ष अगाडिदेखि नै सबै प्रकारका व्यापार व्यवसाय ठप्प छन् । जनताको आधारभूत आवश्यक्ताका सामान बाहेक अन्य सामानको विक्री वितरण बन्द जस्तै अवस्थामा पुगेको छ । बजारमा नगद प्रवाह हुन नसक्दा व्यक्ति व्यक्तीको पैसा एकापसमा फसिरहेको छ । खास र ठूला प्रकारका कारोबार हुने ठाँउहरुमा ठूलो मन्दी छाएको छ । धेरै र ठूलो मात्रामा वस्तु उत्पादन गर्ने उद्योग र कल कारखाना ठप्प छन् । हरेक प्रकारको व्यापार व्यवसायमा मन्दि हुंदा धेरैको रोजगारी खोसिएको छ । व्यापारीहरुको व्यापार नचल्दा व्यापारमा घाटा मात्र हैन लगानी नै डुब्ने खतरा बढिरहेको छ । हरेक जसो व्यवसायीको व्यवसाय जोखिममा छ । त्यसैका कारण श्रमिकको जागिर जोखिममा छ । त्यसैले त अहिले मुठ्ठिभरका मान्छेहरु बाहेक अन्य व्यक्तिहरुसंग पैसा छैन । मुठ्ठिभरका मान्छेको हातमा देशको अर्थव्यवस्था सिमित भएको छ । देशको अर्थ बजारमा उनिहरुले जे चाह्यो त्यही हुने अवस्था सिर्जना गरेका छन् । जो संग पैसा छ उसैले बैंक तथा संस्था मार्फत कारोबार गरेको छैन । बजारमा पैसाको अभावको मौका छोपेर त्यस्ता आर्थिक अपराधिहरुले सर्वसाधारणको जग्गा पास गरेर अनुचित व्याज दरमा ऋण लगानी गर्ने र ऋणीले तिर्न नसके पछि कौडीको भाउमा जग्गा खानेहरु निक्कै सलबलाई रहेका छन् । त्यस्ता आर्थिक बिचौलियाहरुले पैसालाई बैंक तथा वित्तिय संस्थामा नराख्नाले बैंक तथा वित्तिय संस्थाहरु दिनप्रतिदिन कम्जोर बन्दै गैरहेका छन् । सहकारीहरुलाई त यसको ठूलो प्रभाव परेकै थियो र अहिले पनि प्रभाव कायमै छ । अझै यो आर्थिक संकट कहिलेसम्म पर्ने हो यसको कुनै ठेगानै छैन ।

अहिले सहकारीका ऋणीहरुलाई आफुले ऋण लिएको सहकारी भागी दिए हुन्थ्यो जस्तो भएको छ । सहकारी भाग्यो भने आफुले लिएको ऋण तिर्नु पर्दैन भन्ने मानसिकता गाजेको छ । केहीले त बचतकर्तालाई उचालेर सहकारी भाग्छ भन्दै पैसा झिक्न लगाई रहेका छन् । सबै मिलेर सहकारी तथा साना वित्तिय संस्थाहरुलाई बाचर्य राख्नु पर्ने बेलामा चौतर्फी आक्रमण हुन थालेको छ । आफ्नै सहकारीका सदस्य हुन भने संस्थालाई अफ्ठेरो परेका बेलामा सबै मिलेर र सहयोग गरेर बचाउँनु पर्छ । यो हरेक सहकारी संस्थाका सदस्यहरुको कर्तव्य हो । तर हरेक सहकारीमा सदस्य भन्दा पनि बढि ग्राहक ग्राहक रहेछन् भन्ने कुरा प्रमाणित हुन थालेको छ । ग्राहकले मोल मोलाई गर्छ, व्यक्तिगत स्वार्थमा केन्द्रित हुन्छ र मन परे बस्छ मन नपरे छोड्छ । तर सहकारी संघ संस्थाहरुमा त्यसको सबै प्रकारको कानून, नीति र विधिलाई स्वीकार गरेर सदस्यता प्राप्त गर्नु पर्दछ । तर धृरै सहकारीले आफ्ना कारोबारीलाई सदस्य बनाउँन सकेका रहेनछन् । यदि ति सबै सहकारीका सदस्य हुन्थे भने यो आर्थिक संकटमा संस्था बचाउँन लाग्ने नै थिए । हरेक संस्थामा संस्थाका सहि सदस्य नभएका कारण उनिहरु संस्थाका विरुद्ध प्रयोग भैरहेका छन् । व्यक्ती उही हो तर उसले गर्ने व्यवहार बैंक र सहकारीमा आकाश जमिनको फरक छ । केहिले त ऋण उहि मान्छेले बैंकमा ऋण लियो भने नियमित व्याज सहितको निमित रुपमा किस्ता समेत तिर्ने गर्दछ । तर त्यहि व्यक्तिले सहकारीमा ऋण लियो भने तिर्नै पर्दैन जसरी भागेर हिंड्छ । सबै ऋणिले ऋण चै नतिर्ने तर सबै बचतकर्ताले हाम्रो बचत तुरुन्तै फिर्ता चाहियो भनेर माग्नाले सहकारीमा यो समस्या आएको हो । सबै ऋणि र बचतकर्ता सहकारीका सदस्य हुने भएकोले संस्थाको हित सोचेर ऋण उठाउँन लाग्ने हो भने यो ठूलो समस्या हुंदै होईन । ऋण उठाउँन सहयोग नगर्ने तर मेरो चै आजै अहिल्यै फिर्ता चाहियो भन्नाले समस्या आएको हो । यसलाई संस्थाका सबै सदस्य मिलेर समाधानको बाटो खोज्दै अगामी दिनमा अगाडि बढ्नु नै सबैको कल्याण हुनेछ भने सबैको सम्पत्तीको सुरक्षा पनि हुने छ ।

विगतको तुलनामा यो वर्ष सबै वित्तिय संस्थाहरुमा तरलता प्रतिशत निक्कै कम हुदैं गएको छ । यस्तो अवस्थामा बैंकले हम्मेसी जहाँ पायो त्यहाँ लगानी गर्देनन् भने साना प्रकारका वित्तिय संस्थाहरुले लगानी गर्न छाडि सकेका छन् । ठूला प्रकारका कारोबारीहरुलाई बैंकहरुले पत्याउँछन् । तर सामान्य र न्युन आए भएका नागरिकलाई सहकारी बाहेक कसैले पनि हत्तपत्ती पत्याउँदैनन् । अहिलेको अवस्थामा बैंकलाई मात्र विश्वास गरेर कारोबार गर्ने हो र साना वित्तिय संस्था एवं सहकारीलाई विश्वास गर्न सकिएन भने भोलीको आपत्कालिन अवस्थामा बैंकले तपार्इं हामीलाई कति पनि पत्याउँदैनन् । अहिले अरुको कुरा सुनेर सहकारी सिध्याउँने अभियानमा लागेकालाई त्यतीखेर पश्चाताप हुनेछ, जतिखेर आपत पर्दा बैंकले पैसा दिदैंन र झुलाईरहन्छ । हामी आफैंले र आफ्नै समुदायले सञ्चालन गरेको सहकारीलाई विश्वास नगर्ने तर चिन्दै नचिनेको मान्छेहरुले चलाएको बैंकलाई चै सस्तो व्याजमा पैसा दिएर सहयोग गरिरहेका छौं । संस्थामा संलग्न सञ्चालक तथा अन्य समितिमा रहेकाहरुले मात्र आआफ्नो सम्पूर्ण कारोबार आफ्नै संस्था मार्फत गर्ने हो भने अहिले सहकारीमा आएको आर्थिक संकट पचहत्तर प्रतिशत समस्या समाधान हुनेछ । आफु संस्थाको सञ्चालक बन्ने अनि कारोबार चै अरुले आएर गरिदिनु पर्ने तर्कले साना वित्तिय संस्थाहरु चल्न सक्दैनन् । अहिलेको समयमा साना वित्तिय संस्थाहरु प्रति धेरैको विश्वास गुम्दै गएको छ । यो विश्वासमा संकट आउँनुमा केही सहकारीका सञ्चालकहरुको पनि कम्जोरी रहेको छ । कम्जोरी गर्ने वित्तिय संस्थाहरुलाई राज्यले वा सरोकारवालाले अनुगमन नगर्नाले पनि पछिल्लो यो समस्या आएको हो । गलत गर्नेलाई तत्काल कारबाही गर्ने र राम्रो गर्नेलाई दण्डित गर्न सकेको भए वित्तिय संस्थाहरुमा अहिलेको यो समस्या आउँने नै थिएन । यस विषयमा कडाई गरेर अनुगमन गर्न कत्ति पनि ढिला गर्नु हुदैंन । सबै सदस्य मिलौं र आफ्नो सहकारी आफैं चलाऔं । यसैमा सबैको कल्याण छ ।