समाज भनेको सबै किसिमका मानिसहरु बसोवास गरेको समूह हो । विश्वभरि नै सबै किसिमका मानिसहरु समाज भित्र एकआपसमा मिलेर बसेका हुन्छन् । हरेक समाजले आ–आफ्नै किसिमका फरक–फरक पहिचान बोकेका हुन्छन । विश्व नै विभिन्न किसिमका मानिसहरु मिलेर बसोबास गर्ने एक ठूलो समाज हो । विश्वभरि फरक भुगोल, भाषा, विचार, संस्कार, जात, धर्ममा विश्वास गर्ने आम मानिसहरु मिलेर बसेका हुन्छन् । यसैगरी विविधतामा एकता सहित आफनो छुट्टै पहिचान बोकेको हाम्रो नेपाली समाज पनि यि मध्ये एक हो । नेपाली समाज भनेको विभिन्न फूलहरु मिलेर बनेको साझा फुलबारी हो भन्ने कुरा हामीले पढ्दै र सुन्दै आएका छौं । हामी यहि कुरामा हाम्रो देशप्रति गर्व गर्छौं । नेपाली राष्ट्रियताको यो नै एक वास्तविक पहिचान हो । कुनै पनि राष्ट्रले त्यो देशको माटो मात्रै चिनाउँदैन, त्यहाँको धर्म, संस्कृति, भाषा, देशको मौलिकता, भेषभुषाको पनि पहिचान दिलाएको हुन्छ । कुनै पनि नाम, कुल, वतन आदीले पनि त्यो देशको पहिचान झल्काइरहेको हुन्छ । हाम्रो नेपाली समाज त्यसको एउटा दरो उदाहरण हो । यहाँका हरेक कुराले नेपाली पन झल्काइरहेका हुन्छन । यहाँका गाउँ, वनजंगल, खोलानाला, बस्ती आदि कुराले नेपाली पन देखाइरहेको हुन्छन ।

तर अहिले यो पछिल्लो समय आम नेपालीमा विदेश मोह अत्याधिक बढेको पाइन्छ । आफ्ना चाल–चलन, चाडबाड, रितिरिवाज, लवाई, खुवाई, धर्म समेत विदेशी हुन थालेपछि हाम्रो समजा कता जाँदै छ भन्ने कुरा स्पष्ट हुन्छ । जबसम्म हामीले हाम्रो मौलिकता बचाउन सक्दैनौं तबसम्म हाम्रो आफ्नो देशको पहिचान रहँदैन । अहिले आम नेपालीको एक घर कम्तीमा एकजना विदेशमा भएको डर लाग्दो अवस्था छ ।यहाँका पुरै वस्ती–वस्ती रित्तो भएका छन् । अहिले हाम्रो समाजको अस्तित्व नै सकिने गरि युवा जनशक्ति पलायन भएका छन् । यो सब देख्दा बिस्तार हाम्रो राष्ट्रियता नै कमजोर हुँदै गइरहेको अनुभुति हुन्छ। आज सबैतिर गाउँघरमा युवा पुस्ता लगभग शुन्य नै छ । बुढाबुढि मात्र गाउँ कुरेर बसेको पाइन्छ। गाउँ घरमा बिरामी हुँदा अस्पताल लाने मान्छे छैन भने कोहि मर्दा घाटमा लानको लागि पुरुष गाउँमा छैनन् । जिउँदो छँदा त छोराछोरी कहिले आउलान भन्ने आशले कुरे कुरे, मर्दा समेत कहिले जल्न पाइएला भनेर लासले हप्तौं कुरेर बस्नुपर्ने अवस्था छ । अहिले नेपालले भोगिरहेको नियति नै यहि हो । अहिले नेपालमा कोहि बस्नै चाहाँदैनन् । यहाँका स्कुल, कलेज र विश्वविद्यालयहरुमा समेत दिन दिनै विद्यार्थी घटिरहेको छन् । राज्यले कहिल्यै यस्ता गम्भीर विषयमा कुनै वास्ता गरेको छैन । हाम्रो देशको शिक्षालाई राज्यकै नितिका कारण आज कोमामा पुर्याएको मान्न सकिन्छ । विश्वका विद्यार्थीहरु आएर हाम्रो देशमा पढ्न सक्ने हावापानी हाम्रो देशमा छ । तर आज आएर हेर्दा हाम्रो आफ्नो देशमा संचालित स्कुल, कलेज र विश्वविद्यालयले प्रदान गर्ने शिक्षाले जीवनगुजारा गर्न सकिंदैन, कसैले विश्वास गर्दैन, यो कामै छैन भन्ने कुरा जताततै सुनिरहदा समेत राज्यले कुनै कदम चाल्दैन र विदेशी एजेन्टबाट पाइने कमिशनमा रमाएको देखिन्छ ।

आम नेपालीमा अहिले सकेसम्म स्कुल तहबाटै विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थामा पढाउन पाए आफ्ना सन्ततिको भविष्य राम्रो हुन्थ्यो भन्ने विश्वास रहेको छ । अहिले विद्यालय तहको छोडेर कुरा गर्नुपर्दा स्नातक र स्नाकोत्तर तहमा भैरहेको विद्यार्थी भर्ना दर अत्यन्तै न्यून हुनु त्यसैको परिणाम हो । आजको दिन नेपाल सरकारले दिने शिक्षा प्रति आम नेपाली नागरिकमा कुनै विश्वास छैन् । पढेपछि मानिसले सजिलै जागिर पाओस् ,उद्यमका लागि पढाई उपयोगी होस् भन्ने सोच राख्छ । तर नेपालको पढाईमा लगानी गर्नु भनेको “वालुवामा पानी हालेजस्तै हो“ भन्ने बुझाई आम नागरिकमा भएको छ । विश्वविद्यालयहरु भनेका ज्ञान उत्पादन गर्ने थलो मात्र नभई समाजमा आउने समस्या, राष्ट्रमा आउने समस्या, संसारभरिका समस्या र मानव जातीलाई आउने समस्या समाधान गर्ने थलो पनि हो भन्ने कुरा हाम्रो नेपाली समाजमा अहिले हराउँदै गएको छ । ३ करोड ९१ लाख जनसँख्या भएको हाम्रो देशमा बि. स. २०६५ देखि २०८० सालसम्म अर्थात १५ बर्ष अवधिको तथ्यांक हेर्ने हो भने शिक्षा मन्त्रालयबाट ६ लाख ३३ हजार ४ सय अठार जनाले बिदेश जन्को लागि नो अब्जेक्सन लेटर लिइएको देखिन्छ । यो तथ्यांकमा ५६ बिषयका लागि ७२ वटा देश जाने प्रयोजन रहेको देखिन्छ । यति हुँदासम्म राज्यका जिम्मेवार ब्यक्तिहरुलाई कुनै वास्तै छैन । जबसम्म सम्बन्धित निकायले चासो दिँदैन तबसम्म केहि हुनेवाला छैन ।
हाम्रो देशबाट सम्बन्धन प्राप्त विश्वविद्यालयमाभन्दा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा विद्यार्थीहरु टन्न छन् । यसबाट पनि प्रष्ट हुन्छ कि हामी हाम्रो देशको शिक्षा माथि आम जनताको विश्वास छ कि छैन भनेर । हामी हाम्रो देशको शिक्षा नितिमा फेल भइसकेका छौं । अब कुनै पनि वहाना नबनाई तुरुन्त आवश्यक सुधार गरि अगाडि बढ्दा मात्र हामी टिक्ने छौं अन्यथा हामी सकिने छौँ । अहिले पछिल्लो समय हेर्दा हाम्रो देशमा सानै कक्षादेखि विद्यार्थीहरु विदेशीने लाइनमा रहने स्थिती देखा परेको छ । अर्थात यो देशमा बसेर काम छैन्, यहाँको पढाई पनि काम छैन्, नेता ठिक छैनन्, राजनीतिक अवस्था अस्थिर छ, रोजगारी छैन, अरु कुनै अवसर छैन्, क्षमताको कदर हुँदैन, उद्यम गरौँ वातावरण नै छैन् भन्ने मान्यताले गहिरो जरा गाडिसकेको छ । कर नीति, कर्जा नीति, शिक्षा नीति जस्ता जीवनसँग प्रत्यक्ष जोडिएर आउने आधारभुत बिषयमा सरकारका थुप्रै कमिकमजोरीहरु छन् । कर्मचारीतन्त्र र नेताहरु भ्रष्टचारी एवम् कमिसनखोर छन् भन्ने कुरा समाजमा स्थापित छ । फलतः नेपाली समाज रित्तिदै छ । नेपालका विश्वविद्यालयहरु रित्तिनुको कारण पनि आम नेपालीको विश्वास जित्न नसक्नु नै हो । हाम्रो नेपाली विश्वविद्यालयहरु यस्तो हविगतमा पुग्नुमा राजनीतिक अदुरदर्शिता, बौद्धिक वर्गको कमजोरी र विद्यार्थी संगठनको नाममा हुँदै आएका अराजक गतिविधिहरु नै मुख्य कारक हुन। विश्वविद्यालयहरु बिनाकारण अनावश्यक रुपले बन्द हुँदा विद्यार्थीहरुले असुरक्षा महशुश गर्नुका साथै नकारात्मक सोचमा परेर कहिल्यै विश्वास गर्दैनन् । यसरी हाम्रो समाज र सभ्यता जोगाउने वैचारिक थलो, शक्ति आर्जन गर्ने स्रोत केन्द्र बन्दा हुँदा विद्यार्थीहरुमा चरम निराशा छाउँछ । हाम्रो देशको पुरानो ठूलो त्रिभुवन विश्वविद्यालय तालाबन्दी र हड्तालले आजित छ । पुर्वाञ्चल विश्वविद्यालय, सुप विश्वविद्यालय र पोखरा विश्वविद्यालयहरुले पनि तालाबन्दी र हड्तालले गर्दा कहिल्यै कुनै पनि नयाँ कार्यक्रम प्रबर्धन गर्न, समयमा पठनपाठन गर्न, परिक्षा र नतिजा प्रकाशन गर्न सकिरहेका छैनन् । शिक्षामा राजनीति, ढुंगामुढा, तालाबन्दी र हड्ताल सदाको लागि बन्द गरिनुपर्छ । शिक्षमा स्वार्थ समूहको राजनीतिले नेपालको शिक्षा विकास र नेपाली विद्यार्थीको हित कहिल्यै गर्दैन । शिक्षामा अराजकताले नेपाली विद्यार्थीहरु विदेश पलायन हुन बाध्य छन् । यो अति संवेदनशील राष्ट्रिय समस्याको स्थायी समाधान गर्न यथासिघ्र नेपाल सरकार र जिम्मेवार पक्षले हस्तक्षेपकारी भुमिका निर्वाह नगरेमा नेपालको शिक्षा क्षेत्र थप तहसनहस हुने निस्चित प्राय छ । तालाबन्दी, हड्ताल, भिसी मुर्दावाद, आफ्नो माउ पार्टि बाहेककाको सत्तो सराप गर्ने युवा विद्यार्थी जथ्थाबाट पनि विश्वविद्यालय टेक्दै गरेका विद्यार्थीहरु वाक्क दिक्क बनेको स्थिती छ । आँगिक, सामुदायिक, सहकारी र निजी शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिने नदिने भन्ने बिषयमा समेत विद्यार्थी संगठनले चासो राख्नु, चलखेल गर्नु भनेकै शिक्षा क्षेत्र र प्राज्ञप्रति अनादार गर्नु हो । जुन नेपालमा सामान्य जस्तै छ । फलतः यस्ता कृयाकलापले नेपालकै शैक्षिक विकासमा अवरोध सिर्जना हुन पुगेको छ । यसलाई तत्काल रोक्न नसक्ने हो भने हाम्रो देशको शिक्षा तहसनहस हुनेछ । समय सकिए पछि जति नै रोइकराइ गरे पनि केहि हुदैन । त्यसैले समयमै यस्ता विषयहरुलाई सम्बोधन गरि अगाडि बढ्नु पर्ने हुन्छ ।

संसारभर विज्ञान प्रविधिको विकासको गतिले निकै फड्को मारिसक्दा पनि हामी भने अझै पनि त्यस तर्फ ध्यान नदिई चुप लागेर बस्दा हामी धेरै नै पछाडी परिसकेका छौं । समय अनुसार लयमा बग्न नसक्दा युवा वर्ग अहिलेको नेतृत्वप्रति पुरै रुष्ट छ । विश्वविद्यालयले नयाँ विषयको खोज अनुसन्धान, प्रविधि आविष्कार आदि नगर्ने हो भने नेपालको शिक्षा कसरी अगाडि बढ्न सक्ला ? विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज भरिभराउ हुँदा नेपाली विश्वविद्यालयहरुमा भर्ना कम हुनु भनेको नेपाली विश्वविद्यालयहरुले आम नेपालीको अगाडि विश्वास गुमाउनु नै हो । नेपाली विद्यार्थी विदेशका युनिभर्सिटीमा लाईन लाग्न बाध्य हुनुको कारण नै हाम्रो देशको शिक्षामा आम मानिसलाई विश्वास नहुनु नै हो । यस्ता खालका गतिविधिले नेपालको शिक्षा क्षेत्रलाई ध्वस्त पारिरहेको छ । कतै विदेशी युनिभर्सिटी, कलेज र कन्सल्टेन्सीहरुलाई मालामाल बनाउने गिरोहको भव्य डिजाइनको शिकार नेपालका विश्वविद्यालय र तमाम विद्यार्थीहरु परिरहेका पो हुन कि भन्ने प्रश्न पनि जताततै आजभोलि उब्जाएको छ । । जसले विगतदेखिकै नेपालका राजनीतिक नेतृत्व, बौद्धिक जमात, भविष्यमा देश हाँक्ने अहिलेका विद्यार्थी नेतालाई मात्र गिज्याईरहेको छैन्, देश छोडेर विदेश जाँदा सुखसयल हुन्छ भनेर विदेश भासिएका र खुट्टा उचाल्दै गरेका, अनि आफना सन्तानलाई विदेश पठाउने सपना देख्ने हरेक नेपालीलाई अहिलेको अवस्थाले एकदिन यो समाज र सभ्यता बारे सोच्न वाध्य तुल्याउने छ । तर अब आजैबाट यो विषयमा गम्भीर भएर चिन्तन नगर्ने हो भने यो सबैभन्दा ठूलो भुल हुनेछ। अब हामी आम जनताले हिजोका सबै कुरा भुलेर अब आउने दिनमा कसरी जाने हो ? के गर्ने हो ? भन्ने विषयमा सरोकारवाला सबैसँग बसेर गहन छलफल गरि सर्वसम्मत एउटा ठोस निर्णय गरि अगाडि बढ्दा नै हामी सबैको भलो हुनेछ । अन्यथा हाम्रो देशको शिक्षा पुरै विदेशीको हातमा जाने निश्चित छ । –नव क्षितिज साप्ताहिकबाट