नमोबुद्ध नगरपालिका स्थित जनक मा.विले विद्यालय स्थापनाको ५० औँ वर्षको अवसरमा स्वर्ण महोत्सव बिभिध कार्यक्रम गरी मनाएको छ । त्रिदिवसीय रुपमा मनाइएको स्वर्णमहोत्सवमा विद्यार्थीका विविध साँस्कृतिक प्रस्तुतिहरु नृत्य, नाटक, गायन, स्थानीय झाँकीहरु पन्चे बाजा, लाखे नृत्य, झाँक्री नृत्य, बालन तथा खैजडी भजन, लगायतका झाँकीहरु प्रदर्शन गरिएको थियो ।
त्रिदिवसीय समारोहमा पहिलो दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर दाहालको अध्यक्षता र काभे्र जिल्ला क्षेत्र नं १ क का प्रदेश सभा सांसद रत्न ढकालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनक मा.वि.लाई नमूना विद्यालयका रुपमा विकास गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सोही दिनको कार्यक्रममा विशेष अतिथि नमोबद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ लामा रहनु भएको थियो ।
कार्यक्रमको दोस्रो दिनको प्रमुख अतिथि काभे्र जिल्ला क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ रहनु भएको थियो । जनक मा.विले प्राविधिक शिक्षा प्रदान गरिरहेको सन्दर्भ उल्लेख गर्दै उहाँले आजको आवश्यकता प्राविधिक शिक्षाले मात्र पूरा गर्न सक्ने बताउनुभयो । उक्त दिनको कार्यक्रममा विशेष अतिथि पूर्व भूमि व्यवस्था, कृषि एवम् सहकारी मन्त्री चन्द्र लामा, नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामा र काभे्रपलान्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेल रहनुभएको थियो ।
सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका माननीय मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा तेस्रो दिनको कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले छिमेकी विद्यालयहरुले विद्यार्थीहरुमा सिर्जनशीलता र उद्यमशीलताको विकास एवम् स्थानीय कला संस्कृतिको जगेर्नामा जनक मा.वि.बाट सिक्नु पर्ने बताउनुभयो । उक्त दिन जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख दिपककुमार गौतम, नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामाको विशेष आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख गौतमले विद्यालयको खुलेर प्रशंसा गर्नुभयो । उहाँले जनक मा.वि को शैक्षिक प्रदर्शनी, फुड फेष्टिभल एवम् साँस्कृतिक कार्यक्रमको अवलोकन गर्दै जनक मा.वि. काभ्रे जिल्लाकै उत्कृष्ट विद्यालय भएको दावी गर्नुभयो ।
कार्यक्रममा शैक्षिक प्रदर्शनी कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीहरुको फुड फेस्टिभल, विविध साँस्कृतिक कार्यक्रमहरु, नाटक, गायन, साँस्कृतिक फेसन शो लगायतका कार्यक्रमहरु समावेश थिए । विद्यालयले स्वर्णमहोत्सवको अवसरमा २० वर्षभन्दा बढी सेवा गर्ने शिक्षकहरुः रामशरण तिवारी, लक्ष्मण यादव, विमल खनाल, गोविन्दबहादुर सापकोटालाई दीर्घ सेवा पदकबाट सम्मान गरेको थियो । यसैगरी खेलकुद क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै खेलकुद संयोजक उदयनारायण यादवलाई पदकद्वारा सम्मान गरेको थियो । विद्यालयमा शैक्षिक सत्र २०७८ भरमा सर्वाधिक हाजिरी हुने ३ जना शिक्षक कर्मचारीहरु क्रमशः तेजकुमार सार्की, आकृति काफ्ले र युवराज पाठकलाई सम्मान गरेको थियो । त्यस्तै माध्यमिक तह गणित विषय शिक्षक प्रकाश सत्यालाई वर्ष शिक्षक २०७९ पदकबाट सम्मान गरिएको थियो ।
विद्यालयले लिटिल च्याम्प अवार्डबाट कक्षा ५ मा अध्ययनरत सुमित्रा लामा र डेनिश लामालाई सम्मानित गरेको थियो भने मास्टर जनक र मिस जनक अवार्डबाट क्रमशः आशीष खनाल र सुशीला सार्कीलाई सम्मान गरेको थियो । विद्यालयको नवनिर्मित भवनको उद्घाटन बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तानबाट भएको थियो । स्वर्णमहोत्सव समारोह कार्यक्रम विद्यालय संयोजक हरिहर अधिकारीले सञ्चालन गर्नुभएको थियो भने प्रधानाध्यापक प्रदीप पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।