सरकारले आज माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बालुवाटारमा हिजो दिउसो बसेको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

‘मन्त्रिपरिषद बैठकले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ,’ उनले भने । घटनाकाबारे परिवारजनलगायतलाई जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय भएको थियो । त्यस्तै दुर्घटनाका कारण पहिचान गर्न छानबिन समिति गठन गरिएको छ । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको र प्रतिवेदन पेश गर्न ४५ दिनको समय दिइएको छ ।
यति एयरलाइन्सको नाइन एन एएनसी जहाज हिजो बिहान १०ः५० बजे सेती खोंचबाट अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क भएपछि दुर्घटनामा परेको थियो । जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए । चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर रहेका थिए । –नव क्षितिज साप्ताहिकबाट