जिल्लामा आज नयाँ संक्रमितको संख्या शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा अहिले कुल कोरोना संक्रमितको संख्या १४ हजार ७ सय ९ रहेको छ । जिल्लाका कुल कोरोना संक्रमित संख्यामध्ये १४ हजार ४ सय ८२ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्ला अहिले २० जना महिला र १५ जना पुरुष गरी ३५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै शनिवार देशभर थप ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४,९७२ पीसीआर परीक्षणका क्रममा ४३८ जना र १,९५९ एन्टीजेन परीक्षणका क्रममा ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप ८१७ जना संक्रमित निको भएका छन् । कोरोनाकै कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ४५ संक्रमितको कोरोनाका कारण ज्यान गएको छ ।