मोरङ जिल्लाको केराबारीमा बुबा पदमप्रसाद अधिकारी र माता यमकुमारी अधिकारीका चार सन्तान मध्ये कान्छी गीता अधिकारी काठमाडौलाई कर्मथलो बनाएर पत्रकारिता गरिरहनुभएको छ । २०६१ सालमा मानचित्र मासिकबाट पत्रकारिता शुरु गरेकी गीताले विशेषगरी कला मनोरञ्जन पत्रकारितामा आफूलाई संलग्न गराउँदै आउनुभएको छ । उहिलेसम्म आउँदा यस क्षेत्रमा उहाँको नामले दिनप्रतिदिन उचाई प्राप्त गरिरहेको छ । नयाँ विमर्श साप्ताहिकलगायत आधा दर्जन साप्ताहिक पत्रिका, छापा खबर मासिक र मध्यान्न दैनिक हुँदै कमाण्डर पोष्ट दैनिकमा पत्रकारिता गर्नुभएकी गीता हाल फिल्मी खबर साप्ताहिकमा सह–सम्पादक र मिलाप म्याग्जिनका साथै मिलाप न्युज डट कमकी कार्यकारी सम्पादक हुनुहुन्छ । त्यस्तै उहाँ मिलाप फाउण्डेशनकी अध्यक्ष रहेर विभिन्न सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आउनुभएकी गीता अधिकारीसँग अरबिन्द्र गौतमले गरेको संक्षिप्त कुराकानी ः–
० अहिले के गर्दै हुनुहुन्छ ?
मेरो पेसा पत्रकार भएकोले त्यही सम्बन्धी काम मै संलग्न छु । र हामीले मिलाप फाउण्डेशन मार्फत विभिन्न सामाजिक कार्य गर्दै आएका छौ । यसमा रहेर समाजसेवा तर्फ पनि आफूलाई व्यस्त बनाउँदै आएकी छु भन्नुपर्ला ।
० तपाईं आफूलाई कसरी चिनाउनुहुन्छ ?
म आफु लाई चलचित्र पत्रकारको रुपमा चिनाउन चाहन्छु । काठमाडौंबाट प्रकाशित हुने फिल्मीखबर साप्ताहिक, मिलाप मासिक र अनलाइन पत्रिकामा काम गर्छु भने चलचित्र पत्रकार सङ्घको सदस्यभएकाले त्यसका कामहरुमा पनि आफूलाई संलग्न गराउदै आएको छु । त्यस्तै महिला हिंसा, गीत सङ्गीत र अन्य विषयहरुमा काठमाडौंबाट प्रकाशितहुने दैनिक अखबारहरुमा स्वतन्त्र लेखकको रुपमा पनि कलम चलाइरहेको हुन्छु । यस्तै यस्तै ।
० गीता अधिकारी को हो ?
समाजले दिएको एउटा नाम । असंख्य मानिसहरुको भिँडमा पहिचानको लागि दिइएको संज्ञा वा नाम मात्र हो । आमा बुबाकी छोरी र कर्मक्षेत्रमा जुनुसुकै बेला पनि खटिने एउटा स्वतन्त्र पत्रकार नै गीता अधिकारी हो ।
० तपाईं गीत पनि लेख्नुहुन्छ, हैन ? अनि कथा, कविताहरू पनि प्रकाशित भएको पाइन्छ नि !
हो, कहिले काही मनको भावनाहरु लेख्ने गर्छु । गीत लेख्दा मनमा एक खालको सुखानुभूति अनुभव गर्छु म । कथा, कविताहरुमा पनि कलम चलाएको छु । तर, म आफुलाई त्यस क्षेत्रको विद्यार्थी भन्दा पनि एउटा पत्रकारको रुपमा नै चिन्दछु ।
० साहित्य के हो ?
म त्यस्तो साहित्यकार त होइन माथि पनि भने म पत्रकार हो । मलाई लाग्छ साहित्यको सीमित घेरा हुँदैन अथवा साहित्यको परिभाषालाई सीमित गर्नुहुँदैन । यद्यपि, भावनालाई अक्षरमा उतार्ने माध्यम नै साहित्य हो ?
० किन लेखिन्छ ?
आफूभित्रको अनुभूतिलाई व्यक्तगर्न नै साहित्य लेखिन्छ । साहित्य लेखन स्वःस्फूर्त आउने अभिव्यक्ति हो । र, यो आत्मरतिका लागि पनि लेखिन्छ ।
० तपाईं गीत, कविता, कथा र लेखहरू लेख्दा कस्ता विषयवस्तु खोज्नुहुन्छ ?
विविध विषय । शान्ति, वेदना, पीडा, राजनीति, महिला हिंसा, गीत–सङ्गीतका अन्वेषणहरू र समसामयिक ।
० लेखेर पाइने र नपाइने के हो ?
शान्ति पाइन्छ, आत्म सन्तुष्टि पाइन्छ तर खान पाइँदैन ।
० जीवन प्रतिको तपाईंको दृष्टिकोण ?
अझै धेरै देख्न र भोग्न नै बाँकी छ जस्तो लाग्छ । तर, मैरो आजसम्मको भोगाइमा जीवन सङ्घर्ष, सङ्घर्ष नै जीवन हो ।
० अन्त्यमा………?
सञ्चारकर्ममा क्रियाशिल रुपमा खटिनुभएको तपाईंले अर्को सञ्चारकर्मीसँग गर्नुभएको कुराकानीमा आज फरक अनुभुति भयो । हामी एउटै क्षेत्रमा छौ । यो क्षेत्रलाई मर्यादित बनाउने जिम्मा तपाईं हाम्रै हो । तपाईंको यस सञ्चार माध्यमको लोकप्रियता अझ बढेर जाओस्, कामना गर्दछु । जिम्मेबार पत्रकारितामा अग्र भागमा रहेर अझ सक्रिय भएर लाग्नुहोस् भन्न चाहन्छु । धन्यवादका साथै हार्दिक आभार व्यक्त गर्दछु यो समय र संवादका लागि । –नव क्षितिज साप्ताहिकबाट