नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीका लगाउन शुभ साइत रहेको जनाएको छ ।
समितिका अनुसार साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्त शुभ रहेको छ । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु भएकोछ । कात्तिक २ गते आइतबार हिनो काग तिहार र धनवन्तरी जयन्ती पर्छ भने आज कात्तिक ३ गते सोमबार कुकुर तिहार, नरक स्नान र बेलुकी लक्ष्मीपूजा गरिनेछ । कात्तिक ४ गते मङ्गलबार गाई तिहार र गोवर्धन पूजा मनाइनेछ । कात्तिक ५ गते बुधबार गोरु तिहार, म्ह पूजा र नेपाल संवत् ११४६ को नयाँ वर्ष मनाइनेछ ।
नेवार समुदायले गर्ने गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ५ गते बुधबार सम्पन्न हुने छ । यस दिन नेपाल संवत् अनुसार नयाँ वर्ष पनि मनाइने छ र यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुनेछ । भाइटीका र नेवारी भाषामा भनिने किजापूजा कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा हुने छ । शास्त्रसम्मत् रूपमा दाजुभाइलाई ज्येष्ठको क्रमानुसार टीका लगाउनु पर्ने व्यवस्था रहेको समितिले जनाएको छ ।
यमपञ्चक पर्वमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमदीप दान गर्ने परम्परा छ । यस क्रममा काग र कुकुरलाई यमदूतका रूपमा मिठा परिकार दिनु पर्छ, जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ । भाइटिका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । भाइटिका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ । लगाइदिने दिदीबहिनी भने पूर्व फर्कनुपर्ने जनाइएको छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुने छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।