बनेपा,हेटौंडामामा जारी प्रदेश ३ नेकपाको संसदीय दलको बैठकमा राजधानी र नामाकरणको विषयले निकास पाउन नसक्दा भोलीसम्मका लागी बैठक स्थगित भएको छ ।
यस अघि नै भएको नेकपा सचिवालयको निर्णयमा व्यापक असुन्तुष्टि देखिएपछि सहमति खोज्न डाकिएको उक्त बैठकमा छलफल जारी भैरहेको भएपनि निश्कर्ष भने आउन सकेन । राजधानी र नामाकरणको विषय टुंगो लगाउन बोलाइएको बैठकमा हेटौंडा राजधानी बनाउने नेकपा सचिवालयको प्रस्तावमाथि मिश्रित प्रतिक्रिया आएपनि बहुमत सांसदहरुले उक्त निर्णय सच्याउनुपर्ने मत राखेका छन ।
प्रदेश सांसद बसुन्धरा हुमागाईका अनुसार सचिवालयको निर्णयमा बचाउ र सच्चाउ दुबै तर्फमा छलफलमा सहभागीले तर्क राखिराखेका कारण मंगलवार १२ बजेसम्मका लागि बैठक स्थगित भएको छ । उनले कार्वाहि भोग्नै परेपनि काभ्रेको तर्फबाट केहि दिनमा चल्ने प्रदेशसभा बैठकमा लिखित रुपमै प्रस्ताव लाने बताए ।
प्रदेश ३ का सांसद रत्न ढकालले बैठकमा मिश्रित प्रतिक्रिया आइरहेको बताए । केहि सांसदहरुले पार्टीको निर्णय मानेर जानुपर्छ भन्ने मत राख्नुभएको छ । तर बहुमत सांसदहरुले पार्टीले हेटौंडालाई स्थायी राजधानी कायम गर्ने निर्णय अवैज्ञानिक भएका कारण सच्याउनुपर्ने धारणा राख्नुभएको छ ।
यस अघि बिहीबार बसेको कार्यव्यवस्था समितिको बैठकले २१ गते प्रदेशसभाको बैठक डाक्ने र प्रदेश ३ को नामाकरणको विषयमा कार्य विधि लैजाने निर्णय गरेको भए पनि यो दिन केहि पर सर्ने देखिएको छ ।
प्रदेश ३ को कार्यव्यवस्था समितिको बैठकमा राजधानी र नामाकरणको विषयमा अधिकतम सहमति खोजिएको र राजधानीको विषय दलहरू बीच सकेसम्म सहमति गरेर भोटिङमा जाने प्रयास भएको थियो ।

यता प्रदेश ३ को नाम बागमती र राजधानी हेटौँडा राख्ने गरी प्रक्रिया अघि बढाउँन नेकपाको केन्द्रीय सचिवालयले गरेको निर्णयप्रति काभ्रेका प्रदेशसभाका सदस्यहरुले यसअघि नै आपत्ति जनाएका छन् । काभ्रे राजधानी बनाउँन प्रस्ताव दर्ता गरेका नेकपा प्रदेशसभा सांसद चन्द्र लामा, रत्न ढकाल, लक्ष्मण लम्साल र बसुन्धरा हुमागाँईले विधि प्रक्रिया र संविधानले दिएको अधिकार नमिच्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

उनीहरुले प्रदेशको नाम र राजधानी तोक्ने बिषय प्रदेशसभाको क्षेत्राधिकार भएको बताउदै हस्तक्षप नगर्न भनेका हुन । गत २०७४ चैत १४ गते नेकपा सांसद चन्द्र लामाले काभ्रेलाई राजधानी बनाउँन प्रदेशसभा सचिवालयमा प्रश्ताव पेश गरेका थिए भने प्रदेशसभा सदस्यहरु लक्ष्मण लम्साल, बसुन्धारा हुमागाईँ र रत्न ढकालले समर्थन गरेको थिए । उनीहरु चारै जना नेकपाबाट प्रदेश सांसद बनेका हुन् । प्रदेशसभामा दुई तिहाई सदस्यहरु राजधानी हेटौँडाबाट सार्ने पक्षमा रहेकाले आफ्नो पार्टी नेकपा केन्द्रले निर्देशन दिँदैमा त्यो कुनै हालतमा पनि स्वीकार्य नहुने समेत बताएका छन् । –नव क्षितिज साप्ताहिकबाट