अब पनि लकडाउन र बन्द गर्ने कुरा गर्नु अत्यन्त गलत हो । योभन्दा पहिला हामीसँग कुनै विकल्प थिएन । त्यसकारण बन्द लकडाउन गर्न पर्दथ्यो । तर अहिले त हामीसँग खोप छ । अब बन्द लकडाउन होइन खोपको समुचित वितरण गर्ने, खोप सहज बनाउने अनि खोप थुपारेर नराख्ने र केही भयो कि लकडाउन गर्न तम्सने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । अब पनि लकडाउन गर्ने भनेको मुर्खतापूर्ण काम हो । खोप थुपारेर राख्ने अनि लकडाउन गर्ने भनेको जत्तिको नचाहिँदो काम अरु केहि हुँदैन ।

अहिले कोरोना विरुद्ध लड्ने सबैभन्दा ठूलो हतियार भनेको नै खोप हो । नेपाल सरकारले अहिलेसम्म धेरै भन्दा धेरैलाई खोप लगाइसक्नु पर्ने थियो । तर, सरकारले खोप थुपारेर नागरिकलाई लगाउने काम चाहिँ गरेन । अहिले कूल ४० प्रतिशतलाई खोप लगाएको भनिएको छ । त्यो पनि हो कि होइन ? यहाँ हेर्दा सरकारले भने भन्दा कमले मात्र खोप लगाएको जस्तो देखिन्छ । धेरैले चाहँदाचाहँदै पनि खोप लगाउन पाएका छैनन् ।

अहिले पनि लकडाउनको विकल्प भनेको खोप नै हो । धेरै भन्दा धेरै नागरिकलाई खोप लगाउनु पर्यो । एकपटक पनि खोप नलगाएकालाई पहिलो मात्रा, पहिलो लगाएकालाई दोस्रो र दोस्रो पनि लगाएकालाई तेस्रो अर्थात बुस्टर डोज खोप लगाउनु पर्यो । त्यसो भयो भने कसैले पनि लकडाउनका बारेमा सोच्नु पनि पर्दैन र त्यो किसिमको सोच आउँदा पनि आउँदैन ।

अब यसरी खोप लगाउँदा खोप केन्द्रसम्म पुुग्नुपर्ने बाध्यतालाई हटाउनु पर्छ । खोप लगाउन सरकार समुदायसम्म पुग्नु पर्यो । त्यसो गर्दा त्यहाँ लामो लाइन पनि हुँदैन र भिड पनि हुँदैन । एउटा गाउँमा अथवा वडा एक दिन गर्दै लगाउँदै गयो भने धेरै ठाउँमा सजिलै खोप लगाउन सकिन्छ । खोपलाई अहिलेको जस्तो सीमित केन्द्रमा राखेर खोपका लागि दिनभर लाइन लाग्नुपर्ने अनि खोप लिन जाँदा नै कोरोना सर्ने जोखिम हटाउँदै अभियानका रुपमा गाउँ गाउँमा जानुपर्ने हुन्छ । अनि मात्र यसले सहि तरिकाले काम गर्न सकिन्छ ।

हामी कहाँ खोप लगाउन कुनै कुसिमको मोडल नै छ । पहिले हामीले बीसीजी, डीपीटी तथा पोलियो खोप हेल्थ पोष्टबाट मात्र लगाउने गरेका थियौँ । हेल्थ पोष्टबाट खोप दिँदा महिलाहरु खोप लगाउन दुई÷तीन दिन धाएर आउनु पर्ने थियो। एक, दुई पटक लगाएपछि महिलाहरु खोप लगाउन आउन छोडे । अनि खोप लगाउनलाई महिला नआएपछि सरकारले स्वास्थ्य कार्यकर्तालाई गाउँ गाउँमा पठाउने निर्णय गर्यो । त्यसपछि हरेक महिनाको यति गते खोप कार्यक्रम सञ्चालन हुन्छ भनेर तालिका बनाइयो । अनि त्यस दिन गाउँमा गएर खोप लगाउन थालियो । त्यसो गर्दा महिलाले आएर खोप लगाउन थाले । त्यही मोडललाई मात्र अपनाउने हो भने पनि अहिले खोप लिनेको मात्रामा अत्यधिक वृद्धि हुन्छ । तर, त्यसको विपरीत अहिले एउटा अस्पतालमा, स्वास्थ्य सँस्थामा सीमित गरेर नागरिकलाई दिनभर हिँडेर आएर खोप लगाउनु पर्ने, राति लज अथवा अरुकोमा बसेर खोप लिनुपर्ने भयो भने खोप लिनेको मात्रा बढ्दैन । त्यसकारण खोप लगाउन गाउँ गाउँमा जानु पर्छ ।

गाउँ गाउँमा गएर खोप नलगाएकालाई पहिलो मात्रा, पहिलो लगाएकालाई दोस्रो तथा दोस्रो लगाएकालाई बुस्टर डोज दिने व्यवस्था मिलाउनु पर्छ । यसरी गाउँ, गाउँमा खोपको कार्यक्रम चलाएर त्यसलाई पूर्ण नहुन्जेलसम्म खोप लगाउने काम अगाडि बढाउनु पर्ने हुन्छ । धेरै खोपहरु २० डिग्री भन्दा कम तापक्रममा नै राख्न सकिने हुनाले तापक्रम मिलाउनु पर्ने कारणले गाउँमा पुग्न नसकिएको भन्ने कुरालाई मान्न सकिँदैन । २० डिग्री भन्दा कम तापक्रममा राख्नका लागि हामीसँग पहिलेदेखि भएको श्रोत साधन पर्याप्त छ । त्यसकारण प्राविधिक रुपले सजिलोसँग लगाउन सकिने खोप गाउँमा लगाउने योजना बनाउने हो भने ठीक हुन्छ । यदि माइनस ७० डिग्रीमा राख्नुपर्ने खोपहरु छन् भने त्यस्ता खोपलाई गाउँमा राख्न सकिँदैन त्यसकारण त्यस्ता खोपलाई भने सुविधा भएका स्थान पोखरा, विराटनगर, धरान, वीरगञ्ज जस्ता ठूला शहरमा मात्र लगाउनु पर्छ ।

अहिलेसम्म यति थोरै जनसङ्ख्यालाई खोप लगाएर सपिङ मल, सिनेमा हल, रेष्टुराँ, तथा सरकारले दिने सार्वजनिक सेवाबाट वञ्चित गरिने भन्ने कुरो जायज देखिँदैन र मान्य पनि हुँदैन । कम्तीमा ५० प्रतिशत नागरिकले खोप दुई मात्रा खोप नलगाइकन यस्तो निर्णय गर्न मिल्दैन । सरकारले खोप नै नदिने अनि सार्वजनिक सेवा दिन्न भन्न मिल्दैन । यसरी तिमीहरुले खोप लगाएनौ अनि सार्वजनिक सेवा दिन्न भनेर खोँचे थाप्न पाइँदैन । ७० प्रतिशत नागरिकले दुई मात्रा खोप नलगाइ यस्तो निर्णय गर्न पाइँदैन । यदि यस्तो निर्णय भयो भने त्यसको व्यापक विरोध हुन्छ । यस्तो निर्णय सरकारका लागि प्रत्युत्पादक हुनसक्छ ।

खोप लगाए पनि मास्क लगाउनु पर्छ । नत्र कसै कसैलाई सङ्क्रमण हुनसक्छ । मास्कको प्रयोग गर्न छोड्नु हुँदैन । मास्कको प्रयोग अनिवार्य नै गर्नुपर्छ । म त के भन्छु भने संक्रमण पुष्टि भएपछि त झनै अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्छ । मास्क नलगाई हिँड्नेलाई बरु सेवा दिन्न भन्दा हुन्छ । दण्डित गर्दा पनि हुन्छ । मास्क नलगाई हिँड्नेलाई तुरुन्तै चिट काटेर कति जरिवाना गर्ने हो गर्ने व्यवस्था मिलाउँदा हुन्छ ।
खोप र मास्कको प्रयोग गरेपछि भने कोरोना विरुद्ध लाग्न धेरै नै प्रभावकारी हुन्छ । यसका साथै ठूलो–ठूलो भेला गर्न प्रतिवन्ध गरिनुपर्छ । यदि भेला गर्ने हो भने त्यस्ता ठाउँमा प्रहरी पठाएर अनिवार्य रुपमा ७२ घण्टा भित्रको पीसीआर जाँचको नतिजा नभइ प्रवेश गर्न दिनु हुँदैन । अन्यथा त्यस्ता भेलामा रोक लगाउनु उचित तथा बुद्धिमानी हुन्छ । ठूला राजनीतिक भेला तथा प्रशिक्षण गर्ने हो भने पार्टीहरुले आफैँले पीसीआर परीक्षण गरेर मात्र गर्ने व्यवस्था गर्नुपर्ने हुन्छ । यो कुनै ठूलो कुरो पनि होइन । त्यसका लागि घटाघटमा पीसीआर परीक्षणको आह्वान गर्ने गर्न सकिन्छ । महाधिवेशनमा करोडौँ खर्च गर्न सक्ने पार्टीहरुले जाबो दुई÷चार लाख रुपैयाँ पीसीआरमा खर्च गर्न नसक्ने भन्ने कुरा हुँदैन । यस मामिलामा राजनीतिक पार्टीहरु जिम्मेवार हुन जरुरी छ । तर आजभोलिको अवस्था हेर्दा त्यस्तो देखिएनन् ।
तर पार्टीहरु जिम्मेवार भएनन् भन्दैमा हामीले आफ्नो तर्फबाट गर्नुपर्ने काम भने छोड्नु हुँदैन । खोप लगाउने, मास्क लगाउने जस्ता काम अनिवार्य गर्नुपर्छ ।

अब पनि सरकारले सबै आम नगरिकलाई खोप नलगाई आफ्नो दायित्व पुरा नगरेर लकडाउन गर्नतिर लाग्छ भने त्यो सरकारका लागि सबैभन्दा घातक हुनसक्छ । त्यसकारण अब आज अहिल्यैदेखि सरकारले जसरी भए पनि खोप लगाउन लाग्नुपर्यो । तबसम्म सरकारले यो काम शुरु गर्दैन तबसम्म यहाँ केहि पनो हुनसक्दैन । अनावश्यक एकाअर्कामा नराम्रो हुनसक्छ । अब हामीले यो उमेरमा गर्ने काम पक्कै स्वच्छ, इमानदारीका साथ गर्नुपर्छ । यत्ति सोचेर अगाडि बढ्नुपर्छ यसमा आम जनता र सरकार दुबैलाई हित हुनसक्छ ।