जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोना भाइरसबाट कार्यालयका कर्मचारी सङ्क्रमित भएपछि छ दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएको छ । शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा जारी सूचनामा माघ ९ गतेदेखि १४ गतेसम्मका लागि सेवा प्रवाह स्थगित गरिएको उल्लेख छ ।
सङ्क्रमित कार्यालयका कर्मचारी सुरक्षितरुपमा होम आइसोलेसनमा रहेकाले अत्यावश्यक सेवाबाहेक नयाँ नागरिकता वितरण, प्रतिलिपी नागरिकता वितरण, सङ्घसंस्था तथा हातहतियारसम्बन्धी कार्य, नाबालक परिचयपत्र, राहदानी, राष्ट्रिय परियचपत्रको सेवा बन्द गरिएको सूचनामा जनाइएको छ ।
जनप्रतिनिधि तथा कर्मचारी सङ्क्रमित भएपछि नमोबुद्ध नगरपालिका, चौँरीदेउराली गाउँपालिका र रोशी गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा अनिश्चितकालीन कटौती गरेका छन् । नमोबुद्ध नगरले सूचनामार्फत जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले अनिश्चतकालीनरुपमा सेवा कटौती गरेको जनाएको छ । नगरका उपसचिव जनार्दन रिजालले कोरोना सङ्क्रमणको जोखिमका कारण नगरबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको सूचनामा उल्लेख गरेका छन् ।
यस्तै रोशी गाउँपालिकाले आफ्ना कर्मचारी कोरोना सङ्क्रमित भएपछि विहीबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा कटौती गरेको जनाएको छ । चौँरीदेउराली गाउँपालिकाले बुधबारदेखि एक हप्ताका लागि स्वास्थ्य सेवा र आकस्मिक सेवाबाहेक प्रशासनिक काम बन्द गरेको छ ।








