सत्तारुढ गठबन्धनमा रहेका तीन दलका विद्यार्थी संगठनले अमेरिकी सहयोग परियोजना एमसीसी अघि नबढाउन सरकारलाई आग्रह गरेका छन् ।
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू र राष्ट्रिय जनमोर्चाको अखिल छैठौंले एमसीसी परियोजना संसदबाट पारित नगर्न सरकारलाई आग्रह गरेका हुन् ।
हेर्नुहोस् तीन विद्यार्थी संगठनको प्रेस विज्ञप्ति जस्ताको तस्तै
प्रेस विज्ञप्ति
सरकारले अमेरिकी परियोजना एमसीसी पास गर्ने तयारी गरेकोप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । एमसीसी सम्झौतामा राष्ट्रहित विपरीत, देशको सार्वभौमसत्तामाथि प्रश्न उठाउने कैयौं प्रावधानहरु रहेका छन् । अमेरिकी सरकारी अधिकारीहरुले एमसीसी परियोजना इण्डोप्यासिफिक रणनीतिको अङ्ग हो भनेर बारम्बार अभिव्यक्तिहरु दिएका छन् । एमसीसीका पारित गर्न दबाब दिनको लागि एमसीसीका उच्च पदाधिकारीहरु नेपालमा आउने समाचार प्रकाशित भएका छन् । नेपालका राजनीतिक शक्तिमाथि विभिन्न दबाब दिएर एमसीसी नेपालमाथि जबर्जस्ती लाद्ने प्रयत्न भएको छ । कुनै पनि विदेशी सहयोगहरु जबर्जस्ती लादिने विषय होइनन् भन्ने हाम्रो प्रष्ट मान्यता रहेको छ ।
एमसीसी परियोजनाका विरुद्धमा देशमा ठूलो जनमत रहेको र सम्पूर्ण देशभक्त शक्तिहरु निरन्तर संघर्षमा रहेको कुरा निर्विवाद छ । नेपालको विद्यार्थी आन्दोलनले एमसीसीमा रहेका राष्ट्रहित विपरीतका सम्पूर्ण प्रावधानहरु खारेज गर्न माग गर्दछ । अमेरिकी साम्राज्यवादी उद्देश्य पूरा गर्ने उद्देश्यले ल्याइएको एमसीसी परियोजनाले देशको सार्वभौमसत्तामाथि आँच पुग्नेछ भने असंलग्न परराष्ट्रनीतिलाई खण्डित गर्नेछ । जोरजबर्जस्तीपूर्ण ढंगले एमसीसी परियोजना अगाडि नबढाउन र त्यसरी अगाडि बढाइएमा कडा प्रतिकार गर्ने र संघर्षलाई अगाडि बढाउने चेतावनी दिन चाहन्छौं ।–२०७८ भदौ २१ गते
रञ्जित तामाङ, अखिल (क्रान्तिकारी)
सुदेश पराजुली, अनेरास्ववियु
विमल पोखरेल, अखिल (छैठौं)







