नेपाली पात्रो अनुसार असार ७ गते र अंग्रेजी पात्रो अनुसार जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाईन्छ । त्यसो त माघ १ गतेका दिन पनि नेपालमा राष्ट्रिय योग दिवस मनाईन्छ । यि दुवै दिनको महत्व ऐतिहासिक, सामाजिक, धार्मिक र प्रकृति तथा आयुर्वेदिक हिसावले पनि असाध्यै महत्वका दिनका रुपमा रहेका छन् । जुन २१ तारिख वर्षभरीकै लामो दिन हो । यसको संकेत पनि के हो भने योग गर्ने योगी निरोगी भएर लामो आयु बाँच्दछ । त्यस्तै नेपाली परम्परा र आयुर्वेदमा बताईए अनुसार माघ १ गते माघे संक्रान्ती मनाईन्छ । यो पर्वको पनि ऐतिहासिक महत्व छ । माघे संक्रान्ती नेपालमा भूगोल अनुसार आआफ्नो संस्कार अनुसार केही फरक ढंगले पनि मनाईन्छ । त्यस दिन वनस्पतीजन्य विभिन्न प्रकारका कन्दमुल र घ्यू, चाकु एवं रैथाने जातका परिकार खाईन्छ । यसलाई तराईमा अलि फरक र अझ थारु समुदायमा विशेष ढंगले उत्साहका साथ मनाईन्छ । विशेष गरेर त्यस दिन वनस्पतीजन्य खानेकुरा खाने र शरिरलाई तेलले मालिस गर्ने चलन पनि छ । जसले हिउँदभर शरिरमा गाढीएको चिसो बाहिर निकाल्न सहयोग पनि पुग्दछ । यो कुरा आयुर्वेदले मात्र होईन विज्ञानले पनि पुष्टि गरिसकेको छ ।

हामीले जो कोहीलाई पहिलो पटक योग गर्न जाऔं भन्यौं भने असाध्यै राम्रो कुरा भन्नुभयो भनेर भन्छन । यो नराम्रो कुरा कसैले भन्दैनन् तर थोरै मान्छेले मात्र मानी हाल्छन् नत्र धेरैजसो मान्छेले भन्ने गरेको सुनिन्छ– योग त रोग लागे पछि र बुढेसकालका मान्छेले मात्र गर्नु पर्छ । हामीलाई त के भाको छ र योग गर्नु प¥यो ? मलाई त अहिले सम्म केही भाको छैन किन गर्नु प¥यो ? भनेर भाग्ने वा सहज ढंगले नलिनेको संख्या धेरै छ । योगको कुरा गर्न जती सजिलो छ अभ्यास गर्न उतिनै गार्हाे छ । तथापी अहिले योग गर्नेको संख्या बढेको छ ।

योग किन गर्ने ? शरिर स्वस्थ राख्न । कसकसले गर्न मिल्छ ? सबैले गर्न मिल्छ । योग गर्नका लागि कसैलाई पनि उमेर तोकिएको छैन । मात्र के फरक हुन सक्छ भने शारिरिक स्वास्थ्य र व्यक्तिको अवस्था अनुसारका अभ्यासहरु भने केही फरक हुन सक्छन् । व्यक्ति स्वस्थ छ भने उमेर जतीसुकै भएपनि सबै आसनहरु गर्न सक्दछ । युबा भएर पनि शरिर कम्जोर छ भने धेरै अभ्यास गर्न सकिदैन र गर्नु पनि हुँदैन । यदि कसैलाई कुनै कुराको कम्जोरी छ भने योग शिक्षकको सल्लाह वा निगरानीमा गर्नु असाध्यै राम्रो हुन्छ । विशेष गरेर हाम्रो बानी के छ भने मन लाग्यो वा जोश चल्यो भने लगातार कडा अभ्यास गर्ने, अनि धेरै दिनसम्म कुनै अभ्यासै नगर्ने । यस्तो बानी घातक पनि हुन सक्छ । जसले गर्दा हामीमा शारिरिक थकानका साथै मानसिक थकान एवं जति गरे पनि नहुने रैछ भन्ने आवेग बढ्छ ।

हामीलाई योग अभ्यास किन आवश्यक छ त ? किनकी हाम्रो शरिरले पाउनु पर्ने आवश्यक पोषणको मात्रा पाउन सकेको छैन । गाउँमा केही मात्रामा आफैंले उत्पादन गरेर खानेले बाहेक हरेक सामान किनेर खानेले पोषणयुक्त खाना पुगेको हुदैंन । शहर बजारमा बस्नेले त झन अखाद्य वस्तु प्रयोग गर्न वाद्य नै हुुनुपर्दछ । शरिरलाई चलाएमान बनाउनुको सट्टा शौखमा बस्ने बानीले गर्दा स्वास्थ्य दिनप्रतिदिन कम्जोर बन्दै गैरहेको हुन्छ । जसको परिणाम स्वरुप सानै उमेरदेखि नै सुगर, प्रेसर, थाईराड, दम लगाएत विभिन्न प्रकारको एलर्जी सहित हजारौं रोगले आक्रमण गरिरहेको हुन्छ ।

हामी देखावटी समाजमा छौं । हामीले हाम्रो भान्छामा अरुलाई देखाउनका लागि पाकेटका तयारी खाने कुराहरु पर्याप्त राखेर औषधिको भण्डार बनाउनुको सट्टा रोगको भण्डार बनाई रहेका छौं । धेरै भन्दा धेरै औषधीजन्य तरकारीको बोक्रा फाल्छौं । त्यती मात्र होईन, अझ त्यसलाई फ्राई गरेर अलिकती भएको पोषणयुक्त तत्व नष्ट गछौं र खान्छौं । सागसब्जी पनि धोएर काट्नुको सट्टा काटेर धुन्छौं र पकाउदा पनि पोषण नष्ट हुने गरी पकाउँछौं । फलफुल प्रयोग गर्दा पनि धेरैकुरामा ख्याल गरेकै हुदैनौं । आफ्नै भान्छामा पकाईने वा पाक्ने धेरै पकारका खाना तथा त्यसमा प्रयोग हुने मरमसलालाई सही सदुपयोग गर्ने हो र बजारीया अखाद्य वस्तुलाई मात्र निषेध गर्न सक्ने र कम्तिमा दैनिक एक घण्टा विधि पूर्वक योग अभ्यास गर्ने हो भने अहिलेको जारी कोरोना महामारी मात्र होईन अन्य सबै खालका रोगबाट बच्न सकिन्छ ।

योग अभ्यास निरन्तर गरिरहनु पर्ने अभ्यास हो । जसले निरन्तर योग गरेको हुन्छ उसमा रोगसंग प्रतिरोध गर्ने क्षमताको बिकास भैसकेको हुन्छ । नियमित योगाभ्यास गर्ने गरेमा शरिर स्वस्थ्य हुन्छ । मन प्रफुल्लीत हुन्छ । मानसिक तनाव हुदैन । शारीरीक वनावट सन्तुलित हुन्छ, यसको मतलव मोटोपना वा दुब्लोपना पनि हुदैंन । आलस्यता हटाउँछ र काम प्रति ईच्छा शक्ति बढ्छ । योगमा अभ्यास मात्र होईन खानपान, रहनसहन, बोली व्यवहार एवं संस्कारको पनि अभ्यास हुन्छ र व्यक्तीलाई परिवर्तन गर्नमा ठूलो सहयोग पु¥याउँछ । त्यसैले हामी सबैले आजैबाट योग गर्न शुरु गरौं र स्वस्थ नागरिक स्वस्थ देश बनाउँने अभियानमा हातेमालो गर्दै अघि बढौं ।
–लेखक नेपाल योग खेलकुद संघ काभ्रेका अध्यक्ष हुनुहुन्छ । –नव क्षितिज साप्ताहिकबाट