दुध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगोको औपचारिक वितरण भएको छ ।दनिजी डेरी उद्योगमा पहिलो पटक लोगो प्रयोग गर्नेमा हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रे भएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डले २०७८ साल असार ४ गते उक्त डेरीलाई लोगो प्रदान गरेको हो । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका गाडीमा असार २ गते लोगो प्रयोग गर्न आधिकारिकता प्रदान गरेको थियो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच संस्थानलाई लोगो हस्तान्तरण गरिएको थियो । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले विभिन्न उद्योगबाट लोगो प्रयोगका लागि माग भए बमोजिम प्रक्रिया पुर्याएर लोगो वितरण गर्दै जाने बताए ।

पहिलो चरणमा संस्थानलाई लोगो प्रयोगको अनुमति दिइएको थियो भने कमशः प्रक्रिया सहित निवेदन आएपछि थप नीजि क्षेत्रका डेरी उद्योगहरुलाई मागका आधारमा लोगो हस्तान्तरण गर्दै जाने योजना रहेको कुरा बोर्डका कार्यकारी निर्देशक यादबले बताए । अब लोगो अंकित गाडी निषेधाज्ञा वा अन्य आपतकानीन अवस्थामा पनि विना अवरोध नेपालभर आवत जावत गर्न सहज हुने उनले बताए ।

गत २०७७ साल चैत्र १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह लोगोको सार्वजनिक अनावरण गरेका थिए ।
हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेलाई लोगो वितरण कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव डा. विमल कुमार निर्मल, बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादव, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेल, उपमेयर रमा राई, वडा नं ८ का अध्यक्ष सुमन तामाङ, सदस्य माधब पौडेल, नगरपालिका कृषि शाखाका प्रमुख काजी बहादुर श्रेष्ठ, नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडिया, महासचिव प्रल्हाद दाहाल, केन्द्रिय सदस्य मनोज कुमार घिमिरे, एसोसिएसन काभ्रेका अध्यक्ष रबिन्द्र हुमागाईं, बोर्डका प्रशासन अधिकृत बिदुर राई लगायत मन्त्रालय, बोर्ड तथा हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । –नव क्षितिज साप्ताहिकबाट