कर्मचारीलाई सङ्क्रमण देखेपछि भुम्लु गाउँपालिकाको सेवा बन्द
गाउँपालिकाबाट गरिएको शङ्कास्पद व्यक्तिको परीक्षण तथा कनट्याक्ट ट्रेसिङ गर्दा गाउँपालिकामा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीलाई कोभिड–१९ को सङ्क्रमण देखिएकाले सेवा बन्द गरिएको सूचनामा भनिएको छ ।
‘विश्वव्यापी रूपमा फैलिएको नोबेल कोरोना भाइरसबाट सिर्जित कोभिड–१९ को सङ्क्रमण हाम्रो देश नेपालभर फैलिएको अवस्था छ । यसै सन्दर्भमा गाउँपालिकाबाट गरिएको शङ्कास्पद व्यक्तिको परीक्षण तथा कनट्याक्ट ट्रेसिङमा, मिति २०७८।०१।२४ मा प्राप्त रिपोर्ट अनुसार यस गाउँपालिकामा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीलाई कोभिड–१९ को सङ्क्रमण देखिएकाले निसंक्रमण तथा कनट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकोले मिति २०७८।०१।२६ गते आइतबार देखि मिति २०७८।०२।०१ गते शनिवार सम्म गाउँपालिकाबाट उपलब्ध गराइने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको सरोकारवाला सबै पक्षलाई जानकारी गराइन्छ ।’ सूचनामा भनिएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज मात्र भुम्लु गाउँपालिकामा ५ पुरुषमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । गाउँपालिकाले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारमा कुनै चासो नदिएको भन्दै चौतर्फी रूपमा विरोध भइरहेको छ । तर पनि गाउँपालिकाले गम्भीरता पूर्वक लिएको देखिएको छैन ।
तेमाल अनलाइन बाट
प्रकाशित मिति : २०७८ बैशाख २५ गते शनिवार