दाप्चा खोलामा स्काईभेटरले थिच्दा एक जनाको मृत्यु


 काभ्रे नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित दाप्चा खोलामा स्काईभेटरले थिच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि वडा निवासी अन्दाजी ३०/३५ वर्षका निर्माण व्यवशायी प्रकाश खनाल रहेका छन् । आज (शनिबार) निर्माणाधिन दाप्चा खोलाको वाल लगाउने स्थानमा स्काईभेटरको चेनले कुल्चीएर उनको मृत्यु भएको हो ।

वडा नं ७ का अध्यक्ष धर्म सिं लामाका अनुसार उक्त खोलामा बाँध निर्माणको कार्य भईरहेको थियो । उक्त बाँध निर्माणको ठेक्का मृतक खनालले लिएका थिए । ‘खोलामा बाँध लगाउने काम भईरहेको छ, त्यहिँ निस्केको ढुंगा अर्को ठाउँमा वाल लगाउन टिप्परमा लगेको रहेछ, अनि टिप्पर फसेपछि स्काईभेटरले ठेल्न आउँदा मान्छे परेछ’ वडा अध्यक्ष लामाले भने । घटना स्थल दाप्चा जाने बाटोको मुखैमा वडा नं ७ र ८ मा पर्ने उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यलय काभ्रेका सुचना अधिकारी डिएसपी हरी खतिवडाले उक्त घटनाको पुष्टि गरेका छन् । मृतकको धुलिखेल अस्पतालमा राखिएको छ । पोष्टमार्टम पछि वरिवारलाई शव बुझाईने खतिवडाले जानकारी दिए ।

अहिले घटना स्थलमा ईलाका प्रहरी कार्यलय मंगलटार, भकुण्डे प्रहरी चौकीका प्रहरीहरु पुगेका छन् । जेसिबि र चालकलाई नियन्त्रणमा लिई अनुशन्धान भईरहेको सुचना अधिकारी खतिवडाले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्