बनेपाको काभ्रेको विभिन्न भागमा पानी परेसँगै हिमाली जिल्लाहरुका पहाड तथा डाँडाहरुमा हिउँ परेको हो ।
काभ्रेको वेथानचोक, नगरकोट, कामाण्डौ उपत्यकाका वरपरका पहाड फूलचोकी, चन्द्रागिरि, शिवपुरी तथा हिमाली जिल्लाका डाँडाहरुमा हिउँ परेको हो ।
माउण्ट महाभारत होम स्टे, रिट्रिट एण्ड फार्मका सञ्चालक कमल नेपालका अनुसार बेथानचोकका डाँडा हरु हिउँले ढाकिसकेको छ । उनले आफ्नो सामाजिक सञ्जालमा हिउँले ढाकेको बेथानचोक डाँडाकाँडाको फोटो पोष्ट गरिसकेका छन् ।
शनिबार पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भएको छ । वर्षा र हिमपातले चिसो बढेको छ । लामो खडेरीपछि शुक्रबार देशका विभिन्न भागमा हिमपातसहित हिउँदे वर्षा भएको थियो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विगतका वर्षहरूमा माघसम्म धेरै पटक हिमपात र वर्षा हुने गरे पनि यो वर्ष बिहीबार मात्र हिउँदे वर्षा सुरु भएको हो । मुलुकको पश्चिमका केही भागमा भने गत मंसिरमा हल्का वर्षा भए पनि हिउँ पर्न सकेको थिएन । माघ अन्तिम साता आएर सुदूरपश्चिमका उच्च हिमाली भागमा बिहीबार रातिदेखि नै हिमपात सुरु भएको थियो भने शुक्रबार उच्च हिमाली भागहरूमा भारी हिमपात भएको छ ।








