बनेपा – काभ्रेको मण्डन देउपुर नगरपालिकामा गोठबाटै गाई चोरी गरी काटेर खाएको भेटिएको छ । वडा नं ४ हाँडिखोलास्थित शम्भु धितालको गोठबाट राति ढोका फोरेर लुटेराहरुले गाई चोरी लगेका थिए । गत माघ १० गते रातको समयमा बाँधेर राखिएको दुई गाईमध्ये एक गाई चोरी भएपछि खोजि गर्दा दुइदिन पछि घरभन्दा करिब २ किलोमिटर माथि बारीको पाटामा काटेर खाएको भेटिएको हो । स्थानीय बासिन्दा, वडा सदस्य र सिपाघाट प्रहरी चौकीबाट खटिएका प्रहरीको टोलीले गाईको छाला र पुच्छर फेला पारेका थिए । खोजि गर्दै जाँदा स्थानीयले पछि गाईको टाउको पनि फेला पारेको गाईपालक कृषक धितालले जानकारी दिए ।

गाई चोरी र हत्यामा संलग्नको पहिचान भइ नसकेको र खोजि कार्य जारी रहेको प्रहरी चौकी देउपुरका प्रहरी सहायक निरिक्षक तारामणी श्रेष्ठले जानकारी दिए । यद्यपी घटनामा शंकास्पद युवाहरु पहिचान गरिएको र उनिहरु फरार रहेकाले खोजि कार्य जारी रहेको उनको भनाइ छ । कृषक धिताल भने प्रहरीले अनुसन्धान र कारवाहीमा उदासिनता देखाएकोले घटना सेलाउने हो की भनेर चिन्ता जनाउँछन् । बारम्बार प्रहरीलाई शंकास्पद व्यक्तिको जानकारी दिदाँ प्रहरीले किटानी जाहेरी दिन र गाइ काट्दै गरेको प्रमाण दिन भनेकोले न्याय पाउने विषयमा शंका उत्पन्न गराएको धितालको भनाइ छ । “रातको समयमा बास बसेको गाईलाई ढोका फुटाएर चोरी गरेर शंकाष्पद व्यक्तिको घर नजिकैको बारीको पाटामा काटेर खाएपछिको आफ्नो गाईको पुच्छर, छाला र टाउको पहिचान गरेर प्रहरीलाई बताउँदा पनि प्रमाण पुगेन भन्नुको अर्थ के हो ? लामो समयदेखि आफ्ना बालबच्चा पालेझैं, हामीले देवी मानेर पालेको गाईलाई गोठबाटै चोरेर लगेर काटेर खान्छन, तरपनि न्याय माग्दा डराउने पर्ने परिस्थिती छ । यो कस्तो बिडम्बना ? ” भन्दै धितालले दुःखेसो पोखे । नगरपालिका, प्रहरी प्रशासन समक्ष जाँदा पनि सुनुवाइ नभएकोले साह्रै दुःख लागेको छिमेकीहरु बताउँछन ।

गलत प्रवृत्तिको विकास हुँदै गएको र कारवाही नहुँदा अपराधिहरुको मनोबल बढ्ने हुनाले गाउँले झनै त्रसित अवस्थामा रहेको स्थानीय शम्भु चौलागाईले बताए । चौलागाईं भन्छन्, “हामी सबैले मिलेर खोज्दा छाला, पुच्छर, टाउको लगायतका अंग भेटेको हो । प्रहरीले फोटो समेत खिचेर लगेको छ । तर आज आएर अनुसन्धानमा तदारुकता नदेखाउनुले प्रशासनको पनि स्वार्थ मिसिएको हुनसक्छ । हाम्रो गौमाता लाई काटेर खानेलाई कारवाहीको माग गर्दा डराउनुपर्ने परिस्थिती देखिनु विडम्बना हो । यो चोरीको मात्र केस हैन गौ हत्या पनि भएकाले कानुन अनुसार कारबाहिको माग गरेका छौं ।” न्याय नपाए आगामी जस्तोसुकै कदम चाल्न गाउँले तयार रहेको उनको भनाइ छ ।