जयनगर–जनकपुर–कुर्थासम्म सञ्चालन हुँदै आएको रेल आइतबारदेखि महोत्तरीको भंगाहसम्म नै आउने भएको छ । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विजलपुरा रेल्वे खण्डको १७ किलोमिटर आइतबार बिहान साढे १० बजे उद्घाटन गर्ने कार्यकम तय भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन कुमार झाले जानकारी दिए ।

भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनलले निर्माण गरेको रेल्वे ट्रयाक गत जेठ १८ गते नेपाल रेल्वे कम्पनीका प्रमुख झालाई हस्तान्तरण गरिसकेकाले रेल सञ्चालन गर्न लागेको रेल्वे कम्पनीले जनाएको छ । अहिले जयनगर– विजलपुरा स्टेसनसम्म दैनिक एकपटक रेल सेवा सञ्चालन गर्ने तयारी रहेपनि यात्रुको माग अनुसार सेवा थप गर्दै जाने योजना रहेको रेल्वे कम्पनीका संचालक झाले बताए ।