बनेपा, निर्वाचन आयोगले असार १ गतेदेखि यो महिना भर मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य शुरु गरेको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सो अद्यावधिक गर्न लागिएको हो ।
त्यसैले तपाई पनि उमेर पुगेर मतदाता अद्यावधिक गर्न छुट्नु भएको भए यो सुविधा लिन गै हाल्नुस है । स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुन शुरु भएको हो । यस अवधिमा नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकहरुले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आफ्नो नाम दर्ता गराउन सक्ने छन ।
यस कार्यक्रम अन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम छुटेको व्यक्तिहरुले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने छन ।
पेशा, व्यवसायको कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेको भएमा त्यस्तो व्यक्तिले नाम दर्ताको लागि आवश्यक प्रमाणसहित आफू रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता कायम हुने विज्ञप्तिमा भनिएको छ । –नव क्षितिज साप्ताहिकबाट








