बनेपा, जल तथा मौसम विज्ञान विभागले यो साता देशको मौसममा पुनः बदली आउने, पानी पर्ने सम्भावना रहेको भन्दै चाडैं धानबाली भित्र्याइसक्न सुझाव दिएको छ । विभागकाअनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधबारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको बताइएको हो ।
बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात (आँधी) मा परिणत हुने र त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर यो हप्ता नेपालको मौसम प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । महाशाखाका अनुसार न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते चक्रवात आँधीमा विकसित भई भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसा आसपासको तटबाट जमिनमा प्रवेश गर्न सक्ने सम्भावना छ । यस मौसम प्रणालीको प्रभावका कारण कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालमा मौसम बदली तथा वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यद्यपि, नेपालमा कति वर्षा हुन्छ, जोखिमको स्तर कस्तो रहन्छ र यसले कस्तो असर पार्न सक्छ भन्नेबारे अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ ।
सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार मौसमसम्बन्धी मोडल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषणका आधारमा यस प्रणालीको विकास क्रमबारे निगरानी भइरहेको छ । प्रणालीको अवस्था र सम्भावित प्रभावबारे थप जानकारी प्राप्त भएपछि आवश्यकताअनुसार सूचना अद्यावधिक गरिने पनि महाशाखाले जनाएको छ । हाललाई देशको मौसम स्थिर रहे पनि कात्तिक १० गतेदेखि १५ गतेसम्म मौसमी प्रणालीमा फेरबदल आउने संकेत देखिएको छ ।
मौसमविदहरुका अनुसार उक्त न्युन चापीय प्रणालीका कारण देशका अधिकांश भूभागमा प्रभाव पर्न सक्ने सम्भावना छ । यद्यपि, वर्षाको मात्रा र प्रभावको यकिन अवस्थाबारे अहिले नै भन्न सकिने अवस्था नरहेको विभागले स्पष्ट पारेको छ । यो मौसमी फेरबदलले विशेष गरी कृषि र पर्यटन क्षेत्रलाई प्रभावित पार्नसक्ने आकलन गरिएको छ । हाल धान भित्र्याउने समय भएकाले किसानलाई मंगलबारसम्मको अनुकूल मौसमको सदुपयोग गर्दै बाली भित्र्याइसक्न विभागले विशेष आग्रह गरेको हो । कात्तिक ८ गतेपछि कुनैपनि बाह्य कार्यक्रम, भ्रमण वा कृषि कार्यको योजना बनाउँदा मौसमी अवस्थालाई ध्यानमा राख्न र पछिल्ला अद्यावधिक सूचनाहरू नियमित रूपमा लिन सचेत गराइएको छ ।